सात दिन, १४ सामग्री
सम्पादकको सिफारिश
११ चैतदेखि शुरु कोभिड–१९ विरुद्धको बन्दाबन्दी लगत्तै साप्ताहिक 'हिमाल खबरपत्रिका'ले आफ्नो छापा संस्करण स्थगन गरी अनलाइन पोर्टल मार्फत अझ बढी सक्रिय, सचेत, सत्य र विश्वसनीय पत्रकारिता अभ्यासको प्रयत्न गरिरहेको छ।
'सम्पादकको सिफारिश: सात दिन १४ सामग्री' त्यसैमध्येको एक साप्ताहिक स्तम्भ हो, जसमा हामी बितेको साताका उल्लेख्य घटना, सर्वाधिक पढिएका र पढिनुपर्ने समाचार, विचार, विश्लेषणलाई समयक्रम अनुसार प्रस्तुत गरिरहेका छौं।
हिजोका यी सामग्रीहरुप्रतिको तपाईंको आजको मूल्यांकनले भोलिको आकलन गर्न सहज हुने हाम्रो विश्वास छ।
१. दुई वर्षभित्रै पूर्ण नगदरहित कारोबार गर्ने सरकारी तयारी
आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रमको बुँदा नम्बर २२८ मा दुई वर्षभित्र सबै सरकारी कारोबार नगदरहित बनाइने उल्लेख गरेको छ। यसका लागि व्यक्तिबीचको कारोबार र सबै किसिमका व्यवसायको भुक्तानी विद्युतीय माध्यमबाट गर्न सकिने व्यवस्था मिलाइने सरकारको घोषणा छ । विद्युत्, खानेपानी, शिक्षा र स्वास्थ्य लगायतका सार्वजनिक सेवा शुल्कको भुक्तानी विद्युतीय माध्यमबाट गर्ने पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । – राजु बास्कोटाको रिपोर्ट
२. ‘महामारीलाई शिक्षा प्रणाली बदल्ने अवसर बनाउँछौं’
बन्दाबन्दी शुरु नहुँदै बन्द भएका विद्यालय नयाँ शैक्षिक सत्रमा खुल्न सकेका छैनन् । कोरोनाभाइरस संक्रमण फैलिरहेकाले बन्दाबन्दी कहिले समाप्त हुन्छ र कहिलेबाट विद्यालय खुल्छन् भन्ने निश्चित छैन। सरकारले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नगर्ने निर्णय गरेको छ । यहीवेला सरकारले ल्याएको नीति तथा कार्यक्रममा शिक्षाको निजीकरण प्राथमिकतामा परेको छ । तर, नेपालको संविधान २०७२ ले लोककल्याणकारी राज्यको परिकल्पना गरेको छ । यिनै सन्दर्भमा दिपेश शाहीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलसँग गरेको कुराकानी:
३.कोभिड–१९ नियन्त्रणमा दुर्घटना निम्त्याउने कमजोरी
उपचार पत्ता लाग्न नसकेको कोरोना महाव्याधि तत्कालै नियन्त्रण हुने देखिएको छैन । त्यसमा पनि सरकारका योजना र धरातलीय अवस्थाका बीचमा तालमेल देखिएको छैन । पटकपटक बदलिरहने सरकारी नीति, तिनको कार्यान्वयनमा प्रभावकारी संयन्त्रको अभाव र फैलिंदो संक्रमणले हामीलाई कहाँ पुर्याउने हो, अहिल्यै आकलन गर्न कठिन भए पनि तयारी नै भएन भने दुर्घटनामा पुर्याउने पक्का छ। - स्तम्भकार विष्णु रिजालको टिप्पणी
४. प्रत्यारोपण सेवाका अब्बल डा. पुकारचन्द्र श्रेष्ठ
१२ वर्ष अघिसम्म नेपालमा अंग प्रत्यारोपण सेवा नहुँदा नेपालीहरूले भारत लगायत देश जानुपर्ने बाध्यता थियो। त्यस क्रममा मिर्गौला, कलेजो आदि प्रत्यारोपणका लागि एक वर्षमा करीब २०० जना विदेश जाँदा रु. १ अर्बभन्दा बढी बाहिरिन्थ्यो। डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा वीर अस्पतालमा मिर्गौलाको र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपण सेवा शुरु भएपछि अंग प्रत्यारोपणका लागि विदेश जानुपर्ने बाध्यता अन्त्य भएको छ। सन् २००८ मा बेलायतबाट डा. पुकारचन्द्र श्रेष्ठ फर्किएपछि स्वदेशमै अंग प्रत्यारोपण सेवा शुरु भयो। –रामु सापकोटाले तयार पारेको डा. पुकारचन्द्र श्रेष्ठको व्यक्तित्व।
५. तेस्रोलिङ्गीलाई कष्टकर बन्दै बन्दाबन्दी
बन्दाबन्दीमा गरिरहेको काम र पेशाबाट आम्दानी नहुँदा लैङ्गिक अल्पसंख्यक समुदायलाई खाना र बस्ने समस्या हुन थालेको छ । बन्दाबन्दी लम्बिदै जाँदा तेस्रोलिङ्गी महिला बेखर्ची भएका छन्। कतिपयलाई खाना खान पनि समस्या भएपछि राहतको आशामा बसिरहेका छन्। –शुष्मा बरालीको रिपोर्ट । बन्दाबन्दीपछि मनोरोगी र आत्महत्या गर्नेको दर बढ्न सक्नेमनोविद्हरुको चिन्ता – नुनुता राईको रिपोर्ट
६. पीसीआर परीक्षण बढाउन माग गर्नेमाथि पानीको फोहोरा (तस्वीरहरु)
क्वारेन्टिनमा बसेका सबैलाई पीसीआर प्रणालीबाट परीक्षण गरिनुपर्ने माग सहित प्रदर्शनमा उत्रिएका माथि प्रहरीले दमन नीति अख्तियार गरेको छ, पानीको फोहोरा हानेको छ। सरकारले क्वारेन्टिनमा रहेका सबैलाई पीसीआर परीक्षण नगर्ने निर्णय गरेपछि बालुवाटार अगाडि प्रदर्शन भएको थियो। प्रदर्शनकारीमाथि प्रहरीकाे दमनका तस्वीर बिक्रम राई र मोनिका देउपालको लेन्सबाट कैद भएका छन् ।
७. संसदीय अभ्यासमा हरिबोलको मौन ‘विद्रोह’
संघीय प्रतिनिधिसभामा सिन्धुली २ का सांसद, पूर्व कृषिमन्त्री तथा सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य समेत रहेका हरिबोल गजुरेल २०७४ मा निर्वाचित भएयता संसदमा बोलेका छैनन् । नामैले हरिबोल उनी जनसरोकारका विषय बोल्नैपर्ने संसदमै किन बोलिरहेका छैनन् त ? किन मौन छन् ? उनकै शब्दमा:
८. खेर जान थाल्यो नेपालको बिजुली, खरीद गर्न भारतले चासो दिएन
बन्दाबन्दीसँगै उद्योग–प्रतिष्ठान र व्यवसाय ठप्प भएर विद्युत्को खपत कम भएपछि अहिले दिनहुँ रु.१ करोडभन्दा बढी मूल्यको बिजुली खेर गइरहेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार, अहिले देशभित्रका जलविद्युत् आयोजनाले औसत करीब १००० मेगावाट विद्युत् उत्पादन गरिरहेका छन्। तर, बिजुलीको धेरै माग हुने साँझको पिक आवर बाहेक अरू वेला प्रणालीमा मागभन्दा बढी बिजुली हुन्छ। नेपालबाट बिजुली किन्न भारतले आनाकानी गर्दा नेपालमा खपत भएर उब्रिएको बिजुली खेर जान थालेको छ।
–रमेश कुमारको रिपोर्ट।
९. बन्दाबन्दी खोल्ने सरकारको यस्तो छ ५१ दिने योजना, यी हुन् खोल्ने र बन्द रहने सेवा र कार्यहरु
सरकारले ५१ दिनमा पूर्ण रुपमा बन्दाबन्दी खोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार रातिको बैठकले गरेको निर्णय अनुसार कोभिड–१९ को संक्रमणका आधारमा क्षेत्र विभाजन गरेर बन्दाबन्दी खुकुलो बनाउने योजना लागू हुनेछ । यसका लागि सरकारले क, ख, ग, घ र ङ सम्मको सूची बनाएको हो । –दिपक खरेलको सामग्री।
१०. भैंसी फार्मको सामूहिक हत्याकाण्डमा झसेन्द्रको बयान: व्यक्तिगत चरित्रमा आक्षेप लगाएपछि विक्षिप्त बनें
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १० मैनहवास्थित गंगादेवी भैंसी फार्ममा भएको सामूहिक हत्याकाण्डका अभियुक्त झसेन्द्र जीसीले मृतकहरूले आफ्नो व्यक्तिगत चरित्रमा आक्षेप लगाउने गरेकाले आवेशमा आएर हत्या गरेको बयान दिएका छन्। भैंसी गोठ सामूहिक हत्याकाण्डमा प्रहरीले घरमा सुतेकाहरू गोठमा कसरी पुगे? भनेर अनुसन्धान थालिरहेको थियो। –मुकेश पोखरेलको रिपोर्ट।
११. यौनाङ्गमा कोदालोको बिंड हालेर घाइते बालिकाको उपचारको जिम्मा सरकारले लियो
यौनाङ्गमा कोदालोको बिंड हालेर घाइते भएकी ९ वर्षीया बालिकाको उपचार समस्या बारे हिमालमा रिपोर्ट प्रकाशित भएको थियो। रिपोर्ट प्रकाशनपछि धेरैले सहयोगका लागि चासो व्यक्त गरेका थिए । अन्तत: पीडित बालबालिकाको उपचार प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले गर्ने भएको हो। बालिकालाई २६ वैशाखमा सोही ठाउँका १४ वर्षीय बालकले जबरजस्ती आफ्नो घरमा लगेर यौनाङ्गमा कोदालोको बिंड हालेपछि यौनी क्षतविक्षत भएको थियो। –मुकेश पोखरेलको रिपोर्ट।
१२. स्वास्थ्य मन्त्रालयले सामग्री खरीदमा सेनाले भन्दा १८ गुणासम्म बढी मूल्य तिरेको खुलासा
कोभिड–१९ को संक्रमण फैलनबाट रोक्न बन्दाबन्दी घोषणा गरेलगत्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओम्नी बिजनेस कर्पोरेट इन्टरनेशनल (ओबीसीआई) प्रालि मार्फत खरीद गरेको स्वास्थ्य सामग्री र उपकरण परल मूल्य भन्दा कम्तीमा १८ गुणासम्म महँगोमा खरीद गरेको खुलेको छ । –दीपक खरेलको रिपोर्ट।
१३. सेना मार्फत जी–टू–जीबाट गरिएको स्वास्थ्य सामग्री खरीद कानून विपरीत
सरकारले जी–टू–जी का नाममा गरेको स्वास्थ्य सामग्रीसहितका सामान खरीद कानून विपरीत देखिएको छ । नेपाल सरकारले अन्य देशको सरकारसँग सहमति गरेर जी–टू–जी का नाममा गरेको स्वास्थ्य सामग्रीसहितका सामानको खरीद सार्वजनिक खरीद ऐन २०६३ विपरीत देखिएको हो । बजारको प्रतिस्पर्धा छलेर जी–टू–जीका नाममा नियोजित अनियमितताको बाटो खोल्न ऐनलाई गलत व्याख्या गरी दुरुपयोग गरिएको बारे रमेश कुमारको रिपोर्ट।
१४. संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट दुईतिहाई भन्दा बढी मतले पारित
अन्ततःझण्डै चार सातालामो आशंकापछि ‘फास्ट ट्रयाक’बाट संघीय संसदबाट लिम्पियाधुरासहितको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्शा संविधानको अनुसूची–३ मा समावेश गर्न संसदमा प्रस्तुत संविधान संसोधनको प्रस्ताव पारित भएको छ । संसदमा रहेका सबै दलबीच अभूतपूर्व राष्ट्रिय एकता देखिएको यो प्रस्तावको पक्षमा २५८ र विपक्षमा शून्य मत खसेको थियो ।
२६ वैशाखमा भारतले घाटियाबगढ (पिथौरागढ) देखि लिपुलेक भञ्ज्याङसम्मको ८० किलोमीटर सडकको ‘भर्चुअल’ गरेपछि नेपालमा उत्पन्न प्रतिक्रियास्वरुप मन्त्रीपरिषद्ले ५ जेठमा लिम्पियाधुरा–लिपुलेक र कालापानीसहितको नयाँ नक्शा पारित गरेको थियो । ं
संविधानले नयाँ नक्शालाई पहिचान गरेसँगै नेपाल–भारतको कुटनीतिक सम्बन्धमा नयाँ तरंग उत्पन्न भएको आकलन गरिएको छ । आपसी हित चाहने दुवै देशका राजनीतिक नेता, कुटनीतिज्ञ, बौद्धिक र नागरिक समाज सबैले जारी विवादको हल वार्ताबाटै खोज्न सुझाएका छन् ।
याे पनि हेर्नुहाेस्– सम्पादकीय: नेपाल–भारत सीमा विवाद: वार्ताबाट बहकिन नदिऊँ