टिप्पणी आइतबार, जेठ ३२, २०७७

जब थिम्पुमा गुञ्जियो– मलाई नेपाली होइन भन्न कहाँ पाइन्छ !

हिमालखबर

जब थिम्पुमा गुञ्जियो– मलाई नेपाली होइन भन्न कहाँ पाइन्छ !
थिम्पुस्थित माेजाे पार्कमा लाइभ म्युजिक । तस्वीर: माेजाे पार्क ।

भूटानबारे नेपालीको एउटा धारणा समान छ: नेपालीभाषीलाई खेदाउने देश । अर्को पनि धारणा समान छ: भूटान गरीब छ । तर भूटान पुगेपछि मैले बनाएका यो सानो देशप्रतिका धेरै धारणा गलत साबित भए।

रामचन्द्र अधिकारी

सन् १९९० मा केही नेपालीभाषीहरूको आन्तरिक विद्रोहपछि लखेटिएका नेपालीभाषी भूटानी भारत हुँदै नेपाल आए । ती पूर्वी नेपालमा शरणार्थी भएर बसे । तिनै शरणार्थी पछिल्लो समय अमेरिका, क्यानाडा लगायत तेस्रो मुलुक पुगेका छन् । केही भने अझै नेपालमै छन्।

अर्को पनि धारणा समान छ– ‘भूटान गरीब छ ।’

साफ तथा अन्य विभिन्न खेलकुदमा नेपालले भूटानलाई धेरै पटक पराजित गरेको छ । यसकारण भूटान नेपालभन्दा कमजोर र गरीब मुलुक भएको अनुमान हुन्छ ।

तर, भूटान पुगेपछि थाहा भयो भूटान नेपालभन्दा गरीब छैन ।

नेपालमा भ्रमण वर्ष २०२० शुरू भएलगत्तै हामी १६ वटा ट्राभल्स तथा ट्रेकिङ्ग कम्पनीका प्रतिनिधिले भूटान जाने अवसर पायौं । १६ मध्ये पोखराका हामी तीन जना, थानेश्वर बराल, मोहन सुवेदी र म, भने ४ जनवरीमा नै भूटानतर्फ लाग्यौं । अन्य साथीहरू ६ जनवरीमा मात्र जाने कार्यक्रम थियो ।

भूटानले आफूलाई अहिले संसारकै खुुशी जनता भएको देश अर्थात् ‘ल्याण्ड अफ ह्याप्पिनेस’ भनेर चिनाइरहेको छ । हामीलाई लिन पारो एअरपोर्ट आएका पथप्रदर्शकले शुरूमै ‘वेलकम टु ल्याण्ड अफ ह्याप्पिनेस’ भनेर स्वागत गरे ।

यो सानो देशको जम्मा क्षेत्रफल ३८ हजार ३८४ वर्ग किलोमिटर हो । यहाँको जनसंख्या ८ लाख भन्दा कम छ । यहाँ कुनै पनि जीवजन्तु काटमार गर्न वर्जित छ ।

भूटानबारे नेपालीको एउटा धारणा समान छ, ‘नेपालीभाषीलाई खेदाउने देश ।’ सन् १९९० मा केही नेपालीभाषीहरूको आन्तरिक विद्रोहपछि लखेटिएका भूटानी भारत हुँदै नेपाल आए । ती पूर्वी नेपालमा शरणार्थी भएर बसे । तिनै शरणार्थी पछिल्लो समय अमेरिका, क्यानाडा लगायत तेस्रो मुलुक पुगेका छन् । केही भने अझै नेपालमै छन् ।

सन् २०२० को पहिलो शनिबार साँझ पारो विमानस्थलबाट ५५ किलोमिटर गाडीको यात्रापछि थिम्पू पुगियो । थिम्पू पहाडहरूको बीचमा जमेर बसेकी ‘रानी’ रहिछन् । शहरको झण्डै बीचबाट बगेको ‘थिम्पू चु’ (खोला) नव बेहुलीको तिलहरी झैं लाग्छ । यो खोला हाम्रो वागमतीभन्दा हजार गुणा सुन्दर छ ।

होटल आमोधाराको डिनर सकेर हामीलाई भूटानी गाइड प्रताप सुब्बाले थिम्पूको नाइट लाइफ देखाउन लगे । प्रायः शुक्रबार र शनिबार राति अबेरसम्म खोल्ने केही क्लब र बार रहेछन् । अरू दिनमा भने राति ११ बजे बन्द गर्नुपर्ने । मंगलबार त खोल्नै नपाइने रहेछ ।

राजधानी थिम्पूनजिकै  थिम्युमा रहेकाे ५४ मिटर उचाइकाे बुद्ध मुर्ति: बुद्ध डोर्डेनमा । तस्वीरहरु: रामचन्द्र अधिकारी ।

भूटानीहरू नेपाली र हिन्दी भाषाका गीत गाउन माहिर हुँदा रहेछन् । त्यसैले काराओके एकदमै प्रचलित रहेछ ।

शनिबारको साँझ भएकोले हामीलाई त्यहाँको खास रात्रि जीवन अनुभव गर्ने मौका मिल्यो । रातिको झण्डै १ बज्न लागेको थियो, केही डान्स बार र काराओके घुमाएपछि उनले हामीलाई ‘द हब बार’ लगे । १०० को टिकट लिएर मात्र भित्र छिर्न पाइने उक्त बारमा लाइभ म्युजिक हुँदोरहेछ ।

भित्र नेपाली गीत गुञ्जिरहेको बाहिरबाटै प्रष्ट सुनिएको थियो, ‘घुम्तीमा नआऊ है, आँखा तिमी जुधाउन, आँखा तिमी जुधाउन...।’

अघिल्लो रात शुक्रबार ठमेलमा रहेका हामीलाई फरक भूगोलमा छौं भन्ने पत्यार लागेकै थिएन । भित्र छिर्दै गर्दा फेरि अर्को युगल गीत बज्यो, ‘धेरै पछि आँखा जुध्यो, तर तिमी बोलिनौ....।’ हामीले प्रायः भुलिसकेको, तर कालजयी गीतहरू थिम्पूको ‘द हब बार’ मा सुन्न पाइयो ।

सन‍् १९८२ मा स्थापना भएकाे भित्तामा बुद्ध गुम्बा, टाइगर नेष्ट (स्थानीय नाम- पारो तक्साङ) भुटानको प्रमुख पर्यटकीय आकर्षण केन्द्र हाे। 

अधिकांश बारमा भएका मानिसहरू एकपछि अर्को नेपाली गीत अनुरोध गरिरहेका थिए । फरकफरक गायक गायिकाले मञ्चबाट एकपछि अर्को नेपाली गीत सुनाइरहे । हाम्रा रात्रिकालीन शहरहरू पाश्चात्य संस्कृतितर्फ उन्मुख भएको वेला थिम्पूभरि काराओके तथा बारहरूमा नेपाली कालजयी संगीतको मज्जा लिन पाउनु हाम्रा लागि गर्वको कुरा थियो ।

हामीले एउटा टेबुल ओगटेर बस्यौं । एक जना वेटर बहिनीले हिन्दी भाषामा सोधिन्, “क्या लिएंगे आप लोग ?”

हामीले अंग्रेजीमा भन्यौं, “वी आर नेपाली !”

उनी केही लजाइन् । अनि नेपालीमा बोल्न थालिन् । औसत रूपमा थोरै आउने भए पनि भारतीयलाई भन्दा नेपाली पर्यटकलाई मन पराउने उनीहरूको हाउभाउबाट प्रष्टै हुन्थ्यो । यो कुराको संकेत हाम्रा गाइडले पहिले नै पनि गराएका थिए । लगभग भरिभराउ रहेको ‘द हव बार’ मा किरण लामा, एसपी सुब्बा तथा आश्विन राई लगायत धेरै नेपालीभाषी गायक–गायिकाले गीत गाउँदा रहेछन् ।

केहीबेरमा मादलको तालमा गितारका झन्कारहरू गुन्जिन थाले । त्यसपछि हामीबाहेक सबै जना जर्‍याकजुरुक उठेर मञ्च अगाडि पुगे । अनि नाच्न थाले। त्यो वेलासम्म हामीलाई पनि थाहा भइसकेको थियो अब सुरेश अधिकारीको शब्द संगीतमा आस्था राउतले गाएको ‘मलाई नेपाली हैन भन्न कहाँ पाइन्छ...’ गीत गाइँदैछ । उक्त गीत आश्विन राईले मीठो गरी गाइन् ।

मलाई थाहा छैन आस्था राउत कुनै सांगीतिक कार्यक्रममा भूटान पुगेकी छन् कि छैनन् । तर, आस्थालाई थिम्पूभरि आश्विन राईले भुलाइदिएकी रहिछन् । त्यो रात बारमा भएका जति प्रायः सबै उठेर नाचे ।

स्वाभाविक रूपमा एक पर्यटन व्यवसायीको नाताले भूटानको पर्यटन सम्बन्धी केही जानकारी राख्न हामी उत्सुक थियौं । भूटानको पर्यटनमा त्यहाँको भूटान टुरिजम काउन्सिलले राम्रो भूमिका खेलेको छ । थिम्पू भ्रमणकै क्रममा काउन्सिलको कार्यालय पुग्दा भूटान पर्यटन प्रतिष्ठानकी अन्तर्राष्ट्रिय प्रचारप्रसार प्रमुख कर्माले स्वागत सहित पर्यटकीय गतिविधिको जानकारी गराइन् ।

सन् २०१८ मा भूटानमा दुई लाख ७४ हजार ९७ पर्यटक पुगेका थिए । यो अघिल्लो वर्षको भन्दा ७.६१ प्रतिशतले बढी थियो । जसमध्ये भारत, बाङ्लादेश र माल्दिभ्स बाहेकका पर्यटक ७१ हजार ८०७ जना थिए । २०१९ मा यो संख्या १५.१४ प्रतिशतले बढेर कुल पर्यटक ३ लाख १५ हजार ५९९ पुगेका थिए ।

भूटानले क्षेत्रीय पर्यटकको रूपमा प्रतिदिन शुल्क छुट दिएर भारत, बाङ्लादेश र माल्दिभ्सका नागरिकलाई विशेष सुविधा दिएको छ । जसले गर्दा अन्य देशका नागरिकले जस्तै भूटान प्रवेश गर्न यी मुलुकका नागरिकले प्रतिदिनको हिसाबले रोयल्टी बुझाउनुपर्दैन । भूटान सरकारले भने पर्यटकको संख्यात्मक भन्दा गुणात्मकतालाई प्राथमिकतामा राखेको छ । जसका कारण अब छिट्टै नै क्षेत्रीय पर्यटकको सुविधा हटाउने सरकारको तयारी रहेको कर्माले जानकारी दिइन् ।

छोटो समयको लागि भूटान भ्रमण गर्न चाहनेलाई पारो, थिम्पू र ३१०० मिटर उँचाइमा रहेको दाजुला पास गरेर पुग्न सकिने पुनखा सुन्दर ठाउँहरू हुन् । दाजुलाबाट सुन्दर हिमशृङ्खला साथै भूटानकै सबैभन्दा अग्लो हिमाल ७,५७० मिटरको गंखर प्यान्सम देख्न पाइन्छ ।

भाषिक र कला साहित्यको हिसाबले भूटानमा नेपालीपन पाइन्छ । यद्यपि विश्व मानचित्रमा यो छुट्टै स्वतन्त्र राजतन्त्रात्मक राष्ट्र हो। नेपाल भूटानभन्दा भौगोलिक, प्राकृतिक स्रोत–साधन, जनसंख्या आदि हरेक क्षेत्रमा विशाल छ । तर भूटान व्यवस्थित छ । शासक र जनताबीच एकअर्कामा उच्च सम्मान छ । भ्रष्टाचार र बेथिति छैन । सुशासन छ ।

नेपालको तुलनामा उल्लेख्य केही नभएर पनि भूटान विश्वभर पर्यटनमा ब्राण्डिङ्ग छ । तर, हामी सगरमाथा, बुद्धको जन्मभूमि, कैयौं हिमालचुली, नदीनाला भएर पनि ब्राण्डिङ्ग गर्न असफल छौं ।

नेपालले भूटानबाट धेरै सिक्नुपर्नेछ ।

प्रतिकृया दिनुहोस