कला/साहित्य शुक्रबार, जेठ ३०, २०७७

देशभर आन्दोलन, कलाकारहरू पनि सडकमा

हिमालखबर

देशभर आन्दोलन, कलाकारहरू पनि सडकमा

विश्वभर कोरोना संक्रमितको संख्या प्रत्येक दिन बढिरहेको छ । शुक्रबार साँझसम्म नेपालमा पनि संक्रमितको संख्या ५०६२ पुगेको छ ।

बढी भिडभाडमा कोरोना संक्रमण फैलन सक्ने भन्दै विश्व स्वास्थ्य संगठनले भौतिक दूरी कायम गर्न र बढी भिडभाडमा नजान सुझाव दिएको छ ।

त्यही अनुसार नेपालमा पनि अढाई महीनाको बन्दाबन्दी लागू भइरहेको छ । तर, केही दिन यता भने देशभरको विभिन्न स्थानमा भिडभाडका साथ आन्दोलन भइरहेको छ ।

आन्दोलनमा सहभागी अधिकांश युवा वर्ग देखिन्छ । सरकारको लापरवाहीले कोरोना संक्रमण फैलिएको र पीसीआर टेस्ट बढाउन माग गर्दै काठमाडौंको बालुवाटार, चितवन, पोखरा लगायतका स्थानहरूमा आन्दोलन भइरहेका छन् ।

त्यस्तैगरी बन्दाबन्दीकै बेलामा रुकुमको चौरजहारीमा जातीयताकै कारण भएको हत्याकाण्डमा संलग्नलाई कारबाहीको माग गर्दै जातीय विभेद विरुद्ध छुट्टाछुट्टै आन्दोलन भइरहेका छन्।

यी आन्दोलनमा विभिन्न क्षेत्रका व्यक्तिहरू सडकमा ओर्लन थालेका छन् । कतिपयले भने सामाजिक सञ्जालमार्फत रचनात्मक विरोध गर्न र भिडभाड नगर्न आग्रह गरिरहेका छन्।

कलाकार सरिता गिरी बिहीबार जातीय विभेद बिरुद्धको आन्दोलनस्थल माइतीघर र पीसीआर परिक्षणको दायरा बढाउन माग गर्दै भइरहेको आन्दोलनस्थल बालुवाटारमा सहभागी भइन् । उनले भिडभाडमा जाँदा कोरोना संक्रमण हुनसक्ने कुराको ख्याल राख्दै सहभागी भएको बताइन्।

"ती दुवै आन्दोलनमा सचेत नागरिक नै सहभागी भइरहेका छन् । अढाई महीना त हामीले सरकारलाई दिएकै हो नि तर, हाम्रो साथलाई कमजोरीको रुपमा लिएर सरकारले लापरबाही गर्‍यो । अब चाहिं विरोधमा जुट्नैपर्छ भनेर निस्केकी हुँ," उनले भनिन् । कलाकार मात्रै नभएर एक जिम्मेवार नागरिकको हैसियतले बेथितिविरुद्ध आफू ऐक्यबद्धता जनाउन सडकमा आएको उनको दाबी थियो।

अर्की कलाकार पशुपति राई पनि सडकमा भइरहेका यी दुवै आन्दोलनमा बिहीबार सहभागी भइन् । प्रकोपले भन्दा पनि जातीय विभेद र राजनीतिक नेतृत्वको लापरवाहीले ज्यानको जोखिम बढेको महशुस भएपछि आन्दोलनमा ऐक्यबद्धता जनाएको उनको तर्क छ । भन्छिन्, "अझै पनि जातकै कारण मानिसको ज्यान लिने समाज छ । अब यस्तो जघन्य अपराधले निरन्तरता पाउनुहुँदैन भनेर माइतीघर पुगेकी हुँ।"

राजनीतिक नेतृत्वलाई बेथिति रोक्नका लागि खबरदारी गर्दै सडकमा नै उभिनुपर्ने अवस्थाले गर्दा बालुवाटारमा भइरहेको आन्दोलनमा सहभागी भएको उनको भनाइ छ। भन्छिन् "हरेक नागरिकको जीवनसँग राजनीति जोडिएको हुन्छ । राजनीतिलाई नेतृत्व गर्ने व्यक्तिहरूको खराब नियतले हामी नागरिकले दुख पाउनुहुँदैन भनेर सचेत नागरिकको जिम्मेवारी बोध गर्दै बालुवाटारको आन्दोलनमा सहभागी भएकी हुँ।"

संयुक्त राजनीतिक दलित संगठन समितिले अगुवाइ गरिरहेको माइतीघरको आन्दोलन जेठ १५ गतेदेखि शुरु भएको जेठ ३२ गतेसम्म माइतीघरमा धर्ना कार्यक्रम गर्ने र त्यसपछि विभिन्न राजनीतिक दलका नेतृत्वलाई ध्यानाकर्षण पत्र बुझाउने तयारी रहेको आयोजक समिति सदस्य शोभा वि.कले जानकारी दिइन् । "अब चौरजहारीका दोषीलाई कारबाहीको फैसला नआएसम्म विभिन्न स्वरुपमा खबरदारी कार्यक्रम गरिरहन्छौं," उनले भनिन्।

त्यस्तै बालुवाटार लगायत देशका विभिन्न स्थानमा आन्दोलनको निरन्तरता स्वरुप शनिबार बृहत् आन्दोलन गर्ने र आन्दोलनमा सहभागी हुन सहभागी युवाहरूले सामाजिक सञ्जालमार्फत आह्वान गरिरहेका छन्।

प्रतिकृया दिनुहोस