सात वर्षपछि गहुँबालीमा देखियाे सिन्दुरे रोगको प्रकोप
मध्य र सुदूरपश्चिमका थुप्रै जिल्लामा यो वर्ष गहुँबालीमा सिन्दुरे रोगको प्रकोप देखियो । करीब सात वर्षपछि सिन्दुरे रोग ठूलो रुपमा यो वर्ष देखिएको हो । यसले तेस्रो प्रमुख अन्नबाली गहुँको उत्पादन घटाउने अनुमान गरिएको छ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को बालीरोग विज्ञान महाशाखा प्रमुख सुरज वैद्य सन् २०१२/१३ पछि यो वर्ष गहुँबालीले ठूलो प्रकोप व्यहोरेको बताउँछन् । “हरेक ७ देखि १० वर्षमा गहुँबालीमा प्रकोपस्तरमा रोगको आक्रमण हुने गरेको देखिन्छ, यो वर्ष अलि ठूलै स्तरमा प्रकोप देखापरेको हो,” उनले भने । वैद्यका अनुसार, सन् १९९५/९६, सन् २००५/६ र सन् २०१२/१३ मा गहुँमा रोगको प्रकोप देखिएको थियो।
मध्य र सुदूरपश्चिमका बैतडी, बझाङ, दैलेख, बाजुरा, अछाम, सुर्खेत, बाँके, बर्दिया लगायतका जिल्लाको गहुँबालीमा सिन्दुरे रोगको प्रकोप फैलिएको थियो । त्यसबाहेक, गहुँ भित्र्याउने बेला यो वर्ष लगातार पानी परेकाले गहुँको उत्पादन घटेको अनुमान गरिएको छ । प्रकोप फैलिएका जिल्लाको गहुँ उत्पादन ३० प्रतिशतसम्मले ओह्रालो झर्नसक्ने आकलन गरिएको छ । “समग्रमा देशकै गहुँ उत्पादन यो वर्ष ५–१० प्रतिशतसम्मले घट्न सक्छ,” वैद्यले भने ।
गत आर्थिक वर्षमा देशभरीमा करीब २१ लाख मेट्रिक टन गहुँ उत्पादन भएको थियो । धान र मकैपछिको तेस्रो प्रमुख बाली गहुँ नेपालका अधिकांश जिल्लाका ७ लाख ७ हजार हेक्टरमा खेती गरिन्छ । कृषि क्षेत्रको कुल उत्पादनमा गहुँको योगदान ५.२ प्रतिशत छ।
नार्कका वरिष्ठ वैज्ञानिक वैद्यका अनुसार, नेपालमा लोकप्रिय रहेका विजय, धौलागिरि, डाँफे, युपी २६२, एनएल २९७ लगायतका पूराना जातमा बढी रोगको प्रकोप देखिएको हो । तर, स्वर्गद्वारी, गौतम, भृकुटी, आदित्य, एनएल ९७१ लगायतका जातमा रोगको प्रकोप कम देखिएको छ । “पुराना जातहरुमा धेरै रोगको प्रकोप देखिन्छ, त्यसैले रोग प्रतिरोधी नयाँ जात विकसित गरेर किसानलाई सिफारिस गर्नुपर्ने चुनौती छ,” वैद्यले भने ।