खेलकुद शुक्रबार, जेठ ३०, २०७७

महामारीकै वेला मैदान फर्किएको ला लिगामा रंगशालाबाहिर जम्मा भए सयौँ फ्यान

हिमालखबर

महामारीकै वेला मैदान फर्किएको ला लिगामा रंगशालाबाहिर जम्मा भए सयौँ फ्यान

कोभिड १९ महामारी फैलिएपछि रोकिएको ला लिगा मैदान फर्कँदा पहिलो खेलमा सेभिलाले रियल बेटिसलाई २-० गोलले पराजित गरेको छ । खाली रंगशालामा खेलाइएको खेल हेर्न गेटमा सयौँ फ्यान जम्मा भएका थिए ।

तीन महीनापछि चालु लिगको सेभिल्ले डर्बीमा सेभिल्लाका तर्फबाट लुकास ओकाम्पोस र फर्नान्डोले गोल गरेका थिए । अंक तालिकामा सेभिल्ला तेस्रो र रियल बेटिस १२औँ स्थानमा छन् । बलमाथि भने रियल बेटिसको नियन्त्रण बढी थियो । बेटिसले ५४ प्रतिशत नियन्त्रण गरेको थियो ।

खेल सुरु हुनुअघि महामारीमा मृत्यु हुनेको सम्झनामा मौनधारण गरिएको थियो । तीन महीनापछि खेल हुँदा मैदानमा खाल्डा पर्ने लगायत समस्या देखिएको थियो ।

सेभिल्लाको घरेलु मैदान रामोन सान्चेज पिजुयम स्टेडियम बाहिर जम्मा भएका फ्यानलाई भित्र प्रवेश गर्न दिइएको थिएन । महामारीपछि खेल चालू गर्ने ला लिगा युरोपका पाँच ठूलो लिगमध्ये दोस्रो हो । यसअघि जर्मनीको बुन्डेस लिगा सुरु भइसकेको छ ।

बुन्डेस लिगामा दर्शन नभए पनि दर्शकको आवाज र हल्लाखल्ला कृत्रिम रुपमा गराइएको छ । तर, ला लिगा भने खेल अवधिभर सुनसानजस्तै हुन्छ ।

बुन्डेस लिगामा अधिकांश गोलपछि खेलाडीले नछोइ ‘सेलिब्रेसन’ गरिरहेका छन् । तर, ला लिगामा पहिलो गोलपछि नै खेलाडीले सामूहिक अंकमाल गरेरै खुसी मनाए ।

प्रतिकृया दिनुहोस