टिप्पणी विहीबार, जेठ २९, २०७७

एसईई परीक्षा याे वर्ष मात्र हाेइन, सधैंका लागि बन्द गर्नुपर्छ

हिमालखबर

एसईई परीक्षा याे वर्ष मात्र हाेइन, सधैंका लागि बन्द गर्नुपर्छ

एसईई परीक्षा नलिने निर्णय मात्र गरेर पुग्दैन, विश्वका आदर्श बोर्डहरूले विकास गरेका विधिहरूलाई आधार मानी परीक्षा प्रणालीमा सुधारका कामलाई निरन्तरता दिनुपर्दछ ।

निकै लामो समयको रस्साकस्सीपछि नेपाल सरकारले यस पटकको एसईई परीक्षा नलिने निर्णय गरेको छ । कोरोना महामारीका कारण पूर्वनिर्धारित समयमा परीक्षा सम्पन्न गर्न नसकेपछि अनिश्चितकालका लागि एसईई परीक्षा स्थगित भएकोे थियो । शिक्षा तथा मनोविद्हरूले एसईई सदाका लागि अन्त्य गर्न पटकपटक सरकारको ध्यानाकर्षण गरे पनि शिक्षा मन्त्रालय अर्को साल भए पनि परीक्षा गराएरै छाड्ने अडानमा थियो ।

संक्रमितको संख्या बढ्दै जान थालेको अवस्थामा शिक्षा मन्त्रालयले मन्त्रिपरिषद्को बैठकमा परीक्षा सञ्चालन नगर्ने, विद्यालयकै आन्तरिक नतिजाका आधारमा अन्तिम परीक्षाफल प्रकाशित गर्ने प्रस्ताव लगेको थियो । शिक्षा मन्त्रालयको सो प्रस्ताव मन्त्रिपरिषद्ले पारित गरिसकेको छ । समयमै सही निर्णय गर्न नसके पनि ढिलै भए पनि एसईई खारेज गर्ने निर्णयले परीक्षा तथा कोरोनाको त्रासमा पिल्सिरहेका करीब पाँच लाख विद्यार्थीलाई राहत मिलेको छ ।

सरकारले १० कक्षाको आन्तरिक परीक्षाको नतिजाका आधारमा अन्तिम परिणाम प्रकाशित गर्ने भने पनि यसका लागि आवश्यक अध्ययन र विधि तय हुनुपर्दछ । जसका लागि अन्तर्राष्ट्रिय मान्यताप्राप्त परीक्षा बोर्डको अभ्यासलाई अनुसरण गर्न सकिन्छ ।

मन्त्रिपरिषद्को बैठकको पूर्ण विवरण बाहिर आउन नसके पनि सरकारले यस वर्षको एसईई परीक्षा नगर्ने निर्णय गरेको कुरा स्पष्ट रूपमा प्रकाशित भएको छ । एसएलसी अथवा माध्यमिक विद्यालयको अन्तिम परीक्षा १२ कक्षा भइसकेको अवस्थामा एसईईको औचित्य समाप्त भइसकेको छ । यसैले यस वर्षको एसईई मात्र हैन अब एसईईका नाममा कुनै पनि परीक्षा सञ्चालन गर्नुहुँदैन ।

सरकारले १० कक्षाको आन्तरिक परीक्षाको नतिजाका आधारमा अन्तिम परिणाम प्रकाशित गर्ने भने पनि यसका लागि आवश्यक अध्ययन र विधि तय हुनुपर्दछ । जसका लागि अन्तर्राष्ट्रिय मान्यताप्राप्त परीक्षा बोर्डको अभ्यासलाई अनुसरण गर्न सकिन्छ ।

आईबीले विगत तीन वर्षको स्कूलको समग्र नतिजा, हरेक विषयको विषयगत नतिजा र समान स्तरका विद्यालयबीचको नतिजा विश्लेषण गरेर मात्र अन्तिम ग्रेड दिने जुन प्रावधान अगाडि सारेको छ त्यसलाई वैज्ञानिक मान्न सकिन्छ । आईबी (इन्टरनेशनल ब्याकलरियट) विद्यार्थीको बौद्धिक, भावनात्मक, वैयक्तिक र सामाजिक सीप विकास गर्ने उद्देश्यले बनाइएको विश्वव्यापी पाठ्यक्रम   हो ।

अबका सन्दर्भमा नेपाल सरकारले पनि निजी तथा सामुदायिक विद्यालयले दिएको आन्तरिक परीक्षाको नतिजालाई हुबहु रूपमा प्रकाशित गर्ने काम मात्र गर्नुहुँदैन । यसले एसईईको हाउगुजी त हराएर जाला तर शिक्षा क्षेत्रमा अर्को अराजकता र विकृति निम्त्याउने सम्भावना बढ्छ । यसैले स्पष्ट आधार निर्माण गरेर परीक्षाको भय र विद्यार्थीलाई अन्याय पनि नहुने गरी नतिजा निर्माण र प्रकाशन गर्ने काममा ध्यान दिनुपर्दछ ।

विपत्तिले अवसरको ढोका पनि खोल्छ भनेझैं यसै वर्षलाई अवसर मानेर सदाका लागि एसईर्ई अन्त्य गर्ने हो भने कलिला बालबालिकालाई रटायर राम्रो नतिजा ल्याउन तल्लीन अभिभावक र आवश्यकताभन्दा बढी तनाव लिएर घोक्न बसेका विद्यार्थीको मनोविज्ञानमा परिवर्तन अवश्य आउनेछ।

याे पनि हेर्नुहाेस्– यो वर्षको एसईई नहुने

हट्ला त एसईई मनोविज्ञान ?
कोरोनाभाइरसका कारण समयमा सञ्चालन हुन नसकेकाले यस वर्षका लागि मात्र एसईई परीक्षा नलिने निर्णय भएको हो भने यसले क्षणिक रूपमा समस्या त समाधान गर्ला तर आगामी दिनमा शिक्षा क्षेत्रको समस्या ज्यूँका त्यूँ रहने देखिन्छ ।

विपत्तिले अवसरको ढोका पनि खोल्छ भनेझैं यसै वर्षलाई अवसर मानेर सदाका लागि एसईर्ई अन्त्य गर्ने हो भने कलिला बालबालिकालाई रटायर राम्रो नतिजा ल्याउन तल्लीन अभिभावक र आवश्यकताभन्दा बढी तनाव लिएर घोक्न बसेका विद्यार्थीको मनोविज्ञानमा परिवर्तन अवश्य आउनेछ ।

एसईईलाई लामो समयसम्म फलामे ढोका वा सुनौलो ढोका भनेर वर्णन गर्दा विद्यार्थीमा अनावश्यक मात्रामा तनाव बढेको थियो भने ९ कक्षासम्म पढाइमा ध्यानै नदिने अनि १०औं कक्षामा पुग्नासाथ बिहानैदेखि रातिसम्म विद्यार्थीलाई स्कूलमै राखेर पुराना प्रश्नहरू घोकाउने धन्दा निकै बढेको थियो । माध्यमिकस्तरको अन्तिम परीक्षा १२ मा स्थानान्तरण गर्नासाथ एसईईका नाममा विगत लामो समयदेखि विकास हुँदै आएको भयको वातावरण हराएर जाने निश्चित छ ।

यसले एकातिर परीक्षार्थीहरूलाई मनोवैज्ञानिक त्रासबाट मुक्त राख्नेछ भने अर्कोतिर जसरी भए पनि एसईईको रिजल्ट राम्रो गरेर विद्यालयको विज्ञापन गर्ने अस्वस्थ प्रतिस्पर्धामा स्वतः नियन्त्रण आउनेछ ।

विद्यार्थी अल्छी बन्छन् कि ?
१० कक्षामा प्रवेश गर्नासाथ एसईई जीवनकै सबैभन्दा ठूलो परीक्षा हो भन्ने किसिमले विद्यार्थीलाई दबाब दिंदा उनीहरू कम्तीमा एक वर्ष तनावपूर्ण अवस्थामा रहने गर्दथे । विद्यालयहरूले विशेष कोचिङ र ट्यूसन कक्षाका नाममा बिहानदेखि रातिसम्म विद्यालयमा राख्थे । अभिभावकहरूले पनि बच्चाको नतिजामा आफ्नो प्रतिष्ठा खोज्ने मान्यता राखी घरमा समेत ट्यूसनको व्यवस्था गरिदिने परिपाटी नेपाली समाजमा बढ्दै गएको थियो ।

तीन घण्टे परीक्षाका आधारमा विद्यार्थीको वर्षभरि भएका सिकाइ उपलब्धि मूल्यांकन हुन नसक्ने वास्तविकतालाई बेवास्ता गरी नेपाली समाजले एसईई रिजल्टको व्यग्र प्रतीक्षा गर्ने गरेको थियो । अहिलेको अवस्थामा एसएलसी परीक्षा नलिनु मात्र सबै समस्याको समाधान होइन । यसैलाई आधार मानेर अब परीक्षा प्रणालीमा आमूल सुधार ल्याउनुपर्दछ ।

वास्तवमा विद्यालय कम पढाउने र बढी सिकाउने ठाउँ हो । वास्तविक रूपमा विद्यालयलाई सिक्ने ठाउँ बनाउनका लागि अब निरन्तर मूल्यांकन प्रणालीलाई आत्मसात् गर्नुपर्दछ । विद्यालयले वार्षिक परीक्षालाई मात्र आधार मान्नुहुँदैन ।

विद्यार्थीलाई समूह कार्य, समस्या समाधान, तार्किक क्षमताको विकास र जीवनोपयोगी सीप विकास गर्ने दिशामा पाठ्यक्रम र पाठ्यपुस्तकको परिमार्जनका काम अहिलदेखि नै शुरू गर्नुपर्दछ । यसो गर्न सके एसईई परीक्षाका कारणले विद्यार्थी अल्छी हुने होइन बरु उनीहरूमा सिर्जनशीलता बढेर जानेछ ।

परीक्षा नलिने निर्णय मात्र गरेर पुग्दैन, विश्वका आदर्श बोर्डहरूले विकास गरेका विधिहरूलाई आधार मानी परीक्षा प्रणालीमा सुधारका कामलाई निरन्तरता दिनुपर्दछ । मन्त्रालयले अब ढिलो नगरी आवश्यक ‘गाइडलाइन’ निर्माण गरी यथाशीघ्र नतिजा प्रकाशन गर्ने तथा ११ कक्षाको पठनपाठन शुरू गर्ने वातावरण बनाउनुपर्दछ ।

नेपाल सरकारले अहिले गरेको निर्णय आजभन्दा दुई महीना अगाडि गरिसक्नुपर्ने थियो । त्यसो गर्न सकेको भए विद्यार्थीहरू एकातिर महामारीको भय र अर्कोतिर परीक्षाको त्रासबाट एकैचोटि पीडित हुँदैनथे । जेहोस्, ढिलै भए पनि सरकारले गरेको निर्णय समयानुकूल र स्वागतयोग्य छ ।

परीक्षा नलिने निर्णय मात्र गरेर पुग्दैन, विश्वका आदर्श बोर्डहरूले विकास गरेका विधिहरूलाई आधार मानी परीक्षा प्रणालीमा सुधारका कामलाई निरन्तरता दिनुपर्दछ । मन्त्रालयले अब ढिलो नगरी आवश्यक ‘गाइडलाइन’ निर्माण गरी यथाशीघ्र नतिजा प्रकाशन गर्ने तथा ११ कक्षाको पठनपाठन शुरू गर्ने वातावरण बनाउनुपर्दछ ।

यसले लकडाउनका कारण घरमा थुनिएर बसेका विद्यार्थीहरूलाई केही न केही नयाँ कुरा सोच्ने र नयाँ काममा अग्रसर हुने वातावरण निर्माण गर्नेछ । जसले गर्दा राष्ट्रका भावी कर्णधारको मनोसामाजिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्नेछ ।

(भुसाल मनोवैज्ञानिक परामर्शदाता हुन् ।)

प्रतिकृया दिनुहोस