प्रधानमन्त्री ओलीलाई प्रदीप गिरीको सुझाव: महाकाली सन्धिमा गरेको गल्ती आफ्नै कार्यकालमा सच्याउनुस्
नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीले प्रधानमन्त्री केपी शर्मा ओली र आफूले तत्कालीन संसदमा महाकाली सन्धि हुँदा पक्षमा समर्थन गरेर गल्ती गरेको भन्दै अहिले त्यसलाई स्वीकार गरेर सच्याउनुपर्ने बताएका छन्।
मंगलबार संसदमा पेश भएको संविधान संशाेधन (दोस्रो) विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा बोल्दै सांसद गिरीले तत्कालीन समयमा महाकाली सन्धिको पक्षमा बोलेर गरेको गल्तीलाई स्वीकार गरेर नक्शा सच्याउनु पर्ने बताएका हुन्।
"कुनै समय वर्तमान प्रधानमन्त्री ओली र म अर्थात् प्रदीप गिरी संसदको यस्तै मञ्चबाट एक सुर भएर महाकाली सन्धिका पक्षमा बोलेका थियौं । त्यतिबेला महाकालीको सीमांकन ठीकसँग भएको छैन है भनेर माधव नेपाल, सीपी मैनालीको नेतृत्वमा भनिएकाे थियाे," उनले भने "त्यस सवालमा तत्कालीन नेकपा एमाले टुट्यो, हालका प्रधानमन्त्री ओलीले र मैले पनि शायद गल्ती गरेका थियौं। त्यो कुरा प्रधानमन्त्रीले स्वीकार गर्नुपर्छ।"
अहिलेको नक्शासम्बन्धी संशाेधन प्रस्तावको समर्थनमा नक्शा परिमार्जन गर्ने विषयमा आफ्नो पार्टी नेपाली कांग्रेसले केन्द्रीय कमिटीबाट गम्भीरताका साथ एक मतले समर्थन गरिसकेको बताउँदै गिरीले त्यसको प्रतिनिधिमूलक व्याख्या आफ्ना प्रमुख सचेतक भइसकेको र त्यति बोलेर मात्रै यसबारेको सैद्धान्तिक छलफल नसकिने बताएका थिए।
उनले सरकारले सीमा विवादलाई कूटनीतिक कुरा हो भन्न नथाकेको भन्दै कूटनीतिक प्रश्न भनेको के हो बुझाउन आग्रह गरे। पर्याप्त गृहकार्य नगरिएको कूटनीति कहिले पनि ठेगानमा नपुग्ने भन्दै उनले जमिन हाम्रो हो भन्ने बहस गर्न नपर्ने तर्क गरे । "यो तेरी आमा तेरो हो भनेर प्रश्न गरेजस्तै हो," उनले भने।
प्रधानमन्त्री केपी ओली उखान टुक्काका महारथी भएर पनि स्यालको शिकार गर्न जाँदा बाघको तयारी गर्नुपर्छ भन्ने कहानी थाहा नभएको भन्दै पर्याप्त गृहकार्य प्रतिपक्षका नेतासँग सल्लाह गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे।
"म स्याल र बाघको उदाहरण दिंदा लज्जित छु, प्रतिकात्मक अर्थ हो। आवश्यक कूटनीति गरेर, यसलाई पपुलिष्ट विषय नबनाएर साँच्चै नै त्यहाँको भूभागलाई भोग गर्न लगाएर आफ्नो नाम इतिहासमा अमर गर्नुहोस्," गिरीले भने।
संशोधन मागिरहेका आफ्नै मधेसका नेतासँग कुरा नगरेको भन्दै गिरीले भने "उहाँले दिल्लीसँग कुरा गर्न भ्याउनुभयो होला ? पेकिङसँग कुरा गर्न भ्याउनु भयो होला?"
गिरीले प्रधानमन्त्रीलाई शुभकामना दिँदै आफूले गरेका गल्तीलाई आफ्नै कार्यकालमा सच्याउन सुझाव दिए ।