सामाजिक अपराधमा संलग्नलाई विनापूर्वाग्रह र निष्पक्ष रूपमा कारबाही हुन्छ: गृहमन्त्री थापा
गृहमन्त्री रामबहादुर थापाले सामाजिक अपराधमा संलग्न जोकोहीलाई पनि कानून बमोजिम विनापूर्वाग्रह र निष्पक्ष रूपमा कारबाही हुने बताएका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत आफ्नो मन्त्रालयसँग सम्बन्धित बजेटका विषयमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री थापाले यसका लागि गृह मन्त्रालय मातहतका पदाधिकारीहरूलाई निर्देशनसमेत दिएको बताएका हुन्।
"समाजमा हुने हत्या, हिंसा, चोरी, तस्करी, ठगी, अपहरण, बलात्कार, जातीय वा महिला हिंसाजस्ता आपराधिक कार्यप्रति शून्य सहनशीलताको नीति अवलम्बन गरी दोषीलाई कानूनबमोजिम कारबाही गर्न गृह प्रशासन प्रतिबद्ध रहेको छ," उनले भने।
कहीं कतैबाट राजनीतिक वा आर्थिक प्रभावमा परी कर्तव्यपालनामा कमजोरी भएको पाइएमा कानूनबमोजिम कारबाही गरिने प्रतिबद्धता समेत मन्त्री थापाले व्यक्त गरे।
उनले सीमा सुरक्षा व्यवस्थापन गर्नका लागि पाँच सय स्थानमा बीओपी राख्ने लक्ष्य राखिएको जानकारी गराए । यसअन्तर्गत पहिलो चरणमा दुई सय २१ वटा बोर्डर आउट पोस्ट स्थापना कार्य अघि बढिरहेको तथा छ्याङरू र हुम्लाको हिल्सासमेत गरी एक सय २९ स्थानमा बोर्डर आउट पोस्टको स्थापना भइसकेको जानकारी दिए।
उनले आगामी आर्थिक वर्षमा ५९ वटा बोर्डर आउट पोस्टको स्थायी भौतिक संरचना निर्माण गर्न बजेट विनियोजन गरिएको जानकारी गराए । हाल कोरोनाको प्रवेश रोकथामका लागि १२ सय १३ स्थानमा बीओपी विस्तार गरिएको समेत उनले जानकारी गराए।