कोभिड–१९ का कारण १ सय २७ गैरआवासीय नेपालीको मृत्यु
विश्वव्यापी महामारी कोभिड–१९ बाट १ सय २७ गैरआवासीय नेपालीले ज्यान गुमाएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले प्रकाशित गरेको विशेष बुलेटिनका अनुसार, बेलायत, अमेरिका, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतारसहितका विभिन्न १३ देशमा रहेका यी गैरआवासीय नेपालीको मृत्यु भएको हो । गत साता कतारमा चार, कुवेत र बेलायतमा एक–एक गरी ६ जना नेपालीले कोभिड–१९ का कारण ज्यान गुमाएका थिए।
संघअन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार, विश्वका ३४ देशमा रहेका १४ हजार ४५४ गैरआवासीय नेपालीलाई कोरोनाभाइरसको संक्रमण भएको छ । गत साता ५ हजार ५९० जना कोरोना संक्रमणमुक्त भएको पनि एनआरएनएले उल्लेख गरेको छ।
संघले विदेशमा रहेका र नेपाल फर्कन इच्छुक नेपालीलाई स्वदेश फर्किने प्रक्रिया सजिलो बनाउन पनि सरकारलाई आग्रह गरेको छ । संघले विभिन्न देशमा रहेका र स्वदेश फर्कन चाहने नेपाली विद्यार्थीको तथ्यांक संकलन पनि थालेको छ।
संस्थाले स्थापना गरेको कोभिड–१९ राहत कोषमा अहिलेसम्म रु. ८ करोड ४५ लाख संकलन भएको छ।