भक्तपुरका नापी सर्वेक्षकको २२ वर्षको अवैध कमाइ साढे पाँच करोड रुपैयाँ
नापी कार्यालय भक्तपुरका सर्वेक्षक राजेन्द्र काफ्लेले जम्मा २२ वर्ष सरकारी सेवामा बिताए । यो अवधिमा उनले एक करोड ७४ लाख १४ हजार रुपैयाँ कमाए । तर, उनले यही अवधिमा गरेको खर्च र लगानी भने सात करोड १७ लाख ४१ हजार रुपैयाँ भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजेन्द्र र श्रीमती सुशीला विरुद्ध मंगलबार भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
आयोगमा काफ्लेले सार्वजनिक पदमा रहँदा पदको दुरुपयोग गरी गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्तिबाट भक्तपुर र काभ्रेमा महङ्गो मूल्यमा जग्गाहरु खरीद गरी लिखतमा कम मूल्य देखाई श्रीमतीको नाममा लुकाई राखेकाले अनुसन्धान गरिपाऊँ भन्दै बनामे उजुरी परेको थियो।
आयोगले यही उजुरीका आधारमा अनुसन्धान गर्दा राजेन्द्रको अवैध कमाइ ५ करोड ४३ लाख २७ हजार रुपैयाँ भेटिएको आयोगका प्रवक्ता सहसचिव प्रदिपकुमार कोइरालाले बताए।
आयोगका अनुसार १ पुस २०५४ मा सेवा प्रवेश गरेका राजेन्द्र ३० वैशाख २०७६ मा सेवानिवृत्त भएका थिए । आयोगले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी अमिल्दो तथा अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको तथ्य प्रमाणबाट पुष्टि हुन आएकाले राजेन्द्र विरुद्ध साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र सो कसुरलाई निरन्तरता दिएको प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) अनुसार अवैध कमाइ बराबरको बिगो मागदाबी सहित मुद्दा दायर गरेको हो।
आयोगले उनले अवैध कमाइ श्रीमती सुशीला काफ्लेको नाममा राखेको चलअचल सम्पत्ति तथा सोबाट बढे बढाएको सम्पत्ति कानून बमोजिम हुन आउने व्याजसमेत आरोपीको नाममा रहेको जग्गा जमिन तथा ब्यांक मौजदातबाट असुल उपर गरी जफत गर्न मागदाबी लिएको छ । यही प्रयोजनका लागि सुशीलालाई समेत प्रतिवादी बनाएको आयोगले जनाएको छ।