एमसीसी सम्झौता तोड्नु उपयुक्त हो जस्तो लाग्दैन: अर्थमन्त्री खतिवडा
अर्थमन्त्री युवराज खतिवडाले अमेरिकन परियाेजना मिलिनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) सहायता सम्झौता भएकाले यो रद्द गरेर अन्तर्राष्ट्रिय सम्बन्ध तोड्नु उपयुक्त नहुने बताएका छन् ।
प्रतिनिधिसभामा अर्थ मन्त्रालयको बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा मंगलबार जवाफ दिँदै उनले यो विषयमा हामी दुविधामै भएकाले संसदले निर्णय गर्ने पनि बताए । मन्त्री खतिवडाले भने, “यो विचाराधीन विषय हो, एमसीसी बारेमा हामी दुविधामै छौं। संसदमा छलफल हुन बाँकी नै छ। तर यो एउटा सहायता सम्झौता हो, सरकारले लिने सहयोगको कुरा भएकाले सहयोग तोडेर अन्तर्राष्ट्रिय सम्बन्ध तोड्नु उपयुक्त हो जस्तो मलाई लाग्दैन ।”
नेमकिपाका सांसद प्रेम सुवालले तपाईं एमसीसीको पक्षमा देखिनुभयो भन्दै पूरक प्रश्न गरेपछि मन्त्री खतिवडाले भने, "सरकारले अगाडि बढाइरहेको विषयमा मन्त्रीले सहयोग गर्नु अनुपयुक्त हो जस्तो लाग्दैन, मन्त्रीको व्यक्तिगत धारणा पनि हुनसक्छ। फेरि पनि संसदमा छलफल हुन त बाँकी नै छ।"
संसदमा सांसदहरुले विद्युतीय सवारी कर बढाएको बारे उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले सार्वजनिक सवारी साधनलाई प्रोत्साहन गर्नका लागि सार्वजनिक विद्युतीय सवारी साधनको कर नबढेको बताए। उनले विद्युत खपत गर्ने भनेर निजी गाडीमा मात्रै खपत गर्नुपर्छ भन्नु उपयुक्त नहुने बताए।