कोरोनाभाइरस विरुद्ध जुध्न नेपाललाई अमेरिकाको ५५ लाख डलर सहयोग
अमेरिकाले कोरोनाभाइरससँग जुध्न नेपाललाई ५५ लाख डलर (करीब रु. ६६ करोड) सहायता उपलब्ध गराएको छ। अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग यूएसईआईडी मार्फत यो सहयोग गरिएको अमेरिकी सरकारले जनाएको छ।
यस सहायता मार्फत यूएसएआईडीले नेपालमा कोरोना संक्रमणका सहायक प्रभावहरूलाई सम्बोधन गर्न नेपाल सरकारसँग सहकार्य गर्ने जनाइएको छ।
यससँगै नेपाललाई कोरोनाभाइरस महामारीसँग जुध्न अमेरिकी सरकारले उपलब्ध गराएको सहायता रकम ७३ लाख डलर (करीब रु. ८९ करोड) पुगेको छ।
पछिल्लो सहायता रकमबाट साना व्यवसायहरूको आर्थिक पुनरुत्थानका लागि अत्यावश्यक वित्त परिचालन गरिनेछ। साथै, उक्त सहायताले जोखिमयुक्त क्षेत्रमा स्थानीय सरकार तथा निकायहरूलाई कोरोनाभाइरसका आर्थिक सामाजिक प्रभावसम्बन्धी मूल्याङ्कन, योजना तथा प्रतिकार्यसम्बन्धी कार्यमा सघाउने जनाइएको छ।
यूएसएआईडीले प्रयोगशाला प्रणाली, संक्रमण पहिचान, निगरानी र प्राविधिक विशेषज्ञहरूलाई पूर्वतयारीका निम्ति समेत स्वास्थ्य सहायता प्रदान गरेको छ।
सहायता घोषणा गर्दै अमेरिकी राजदूत र्यान्डी बेरीले यो संकटको वेला र त्यसपछिको समयमा समेत नेपाललाई समृद्ध र आत्मनिर्भर देश बनाउन सहायता जारी राख्ने प्रतिबद्धता जनाएका छन्।
अमेरिकाले नेपालको आर्थिक-सामाजिक विकासका लागि ७० वर्षभन्दा लामो समययता १ अर्ब ५० करोड डलरभन्दा बढीको सहायता उपलब्ध गराएको जनाएको छ।