दोस्रो विश्वयुद्धपछिकै ठूलो आर्थिक मन्दी : विश्व ब्याङ्क
विश्व ब्याङ्कले कोरोनाभाइरस महामारीका कारण यो वर्ष विश्व अर्थतन्त्र ५.२ प्रतिशतले घट्ने आकलन सार्वजनिक गरेको छ। बहुपक्षीय ऋणदाता ब्याङ्कले यो दोस्रो विश्वयुद्धपछिको सर्वाधिक ठूलो आर्थिक मन्दी भएको उल्लेख गरेको छ।
ब्याङ्कले भर्खरै सार्वजनिक गरेको २०२० ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्समा कोरोनाभाइरसको महामारी यो जूनसम्ममा अन्त्य नभए सन् २०२० मा विश्व अर्थव्यवस्था ८ प्रतिशतसम्मले ऋणात्मक हुनसक्ने उल्लेख गरेको छ। त्यस्तै, अर्थव्यवस्थाको ठूलो हिस्सामा सन् १८७० पछिकै प्रतिव्यक्ति उत्पादनमा गिरावट आएको उल्लेख गरेको छ।
आन्तरिक माग र आपूर्ति तथा व्यापार र वित्त क्षेत्रमा ठूलो अवरोध पुगेका कारण विकसित देशको अर्थतन्त्र सन् २०२० मा ७ प्रतिशतले घट्ने विश्व ब्याङ्कको अनुमान छ। त्यस्तै, मध्यम आय भएका विकासशील र विकासोन्मुख देशहरुको कुल गार्हस्थ्य उत्पादन २.५ प्रतिशतले घट्ने अनुमान गरिएको छ। यो समूहका देशहरुको अर्थव्यवस्था घट्न लागेको ६० वर्षपछि पहिलो पटक हो।
विश्व ब्याङ्कले प्रतिव्यक्ति आय ३.६ प्रतिशतले घट्ने, जसका कारण दशौं लाख नागरिक गरीबीको रेखामुनि धकेलिने प्रक्षेपण गरेको छ।
विश्व ब्याङ्कका अनुसार, दक्षिण एशियाको अर्थतन्त्र यो वर्ष २.७ प्रतिशतले घट्नेछ। रेमिटेन्स घटेको तथा व्यापार र अर्थतन्त्रका गतिविधिमा अवरोध पुगेकाले नेपालको अर्थतन्त्र चालु आर्थिक वर्षमा १.८ प्रतिशतले मात्रै बढ्ने अनुमान विश्व ब्याङ्कको छ। नेपाल सरकारले भने चालु आर्थिक वर्ष २०७६/७७ मा २.३ प्रतिशतको वृद्धिदर हासिल हुने अनुमान गरेको छ।
कोरोनाभाइरस महामारीबाट सबैभन्दा बढी प्रभावित देशका अर्थतन्त्रमा गम्भीर असर पुगेको छ। खासगरी, विश्व व्यापार, पर्यटन, वस्तु निर्यात तथा बाह्य वित्तमा निर्भर देशहरुको अर्थतन्त्रमा गम्भीर अप्ठ्यारो निम्तिएको विश्व ब्याङ्कले जनाएको छ। ब्याङ्कले महामारीको असर लामो समय रहने र यसले विश्व अर्थतन्त्रमा चुनौती थपिरहने आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ।
विश्व ब्याङ्कले महामारीको असर चाँडै सकिए सन् २०२१ मा विश्व अर्थतन्त्र ४.२ प्रतिशतले बढ्ने पनि आकलन गरेको छ। यद्यपि, यो महामारीको असर कहिले सकिन्छ भन्नेमा भर पर्ने जनाइएको छ। विश्व ब्याङ्कले स्थिति खराब हुँदै गए सन् २०२० मा विश्व अर्थतन्त्र ८ प्रतिशतले ऋणात्मक हुनसक्ने र सन् २०२१ मा १ प्रतिशतले मात्रै बढ्नसक्ने सम्भावना पनि देखाएको छ।
विश्व ब्याङ्कले अमेरिकाको अर्थव्यवस्था सन् २०२० मा ७.९ प्रतिशतले घट्ने प्रक्षेपण गरेको छ। चीनको अर्थतन्त्र भने ४.९ प्रतिशतले घट्ने आकलन छ।