आजबाट संविधान संशोधन विधेयकमाथि छलफल
प्रतिनिधिसभामा पेश भएको संविधान संशोधन विधेयक–२०७७ मा आजबाट छलफल हुने भएको छ। १८ जेठमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले पेश गरेको संविधान संशोधन विधेयकमाथि आजबाट छलफल हुनेछ।
संविधानको अनुसूची–३ मा रहेको निशाना छाप परिवर्तन गर्न संविधान संशोधन विधेयक पेश गरिएको छ। लिम्पियाधुरा सहितको भूगोल समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्शा जारी भएपछि सोहीअनुसार, निशानाछाप परिवर्तन गर्न लागिएको हो।
सरकारको निर्णयअनुसार, यसअगाडि नै संसदको लागो र प्रशासनिक नक्शा कार्यान्वयनमा आइसकेको छ। तर, संविधानमा भने पुरानै नक्शा भएकाले संशोधन विधेयक पेश गरिएको छ।
संशोधन विधेयकमाथि छलफल सकिए पछि मन्त्री तुम्बाहाङ्फेले जवाफ दिएसँगै संशोधन प्रक्रिया अगाडि बढ्नेछ। १९ जेठमै दर्ता भएको संशोधन माथि सांसदहरुले जनताको सुझाव सहित संसदमा राय राक्ने अथवा संशोधन प्रस्ताव पेश गर्न सक्ने संवैधानिक व्यवस्था छ। तर, यो विधेयकमा संशोधन प्रस्ताव सांसदहरुको रहने संभावना नरहेकाले संशोधन प्रक्रिया चाँडो अगाडि बढ्ने संभावना छ।
प्रतिनिधिसभाको बैठक जारी बैठकमा बजेटमाथि मन्त्रालयत रुपमा सांसदहरुले उठाएको प्रश्नको मन्त्रीहरुले जवाफ दिएपछि संविधान संशोधन विधेयकमाथि छलफल शुरु गरिने कार्यसूची छ। सोमबार नसकिएको अर्थ, सञ्चार, ऊर्जा, शिक्षा, सामान्य प्रशासन, परराष्ट्र, गृह र रक्षा मन्त्रीले आज जवाफ दिदैछन्।