कला/साहित्य शनिबार, जेठ ३१, २०७७

चार ग्रन्थको एउटै कृतिमा नेपाली साहित्यको इतिहास

हिमालखबर

चार ग्रन्थको एउटै कृतिमा नेपाली साहित्यको इतिहास

नेपाली साहित्यका विविध विधाको इतिहास फाट्टफुट्ट त प्रकाशन भएकै हो तर अब एउटै कृतिमा समग्र साहित्यको इतिहास भेटिने भएको छ । ‘नेपाली साहित्यको बृहत् इतिहास’ (जगदम्बा दोस्रो ठेली) को प्रकाशनले नेपाली साहित्यको अध्ययन गर्न चाहनेलाई सजिलो बनाइदिएको छ ।

– प्रा.डा. खेम दाहाल

यो दोस्रो ठेलीमा चारवटा पुस्तक समेटिएका छन्ः नेपाली लोकसाहित्य र विधागत अनुसन्धानको इतिहास, प्रारम्भिककालको नेपाली साहित्यको पूर्वपीठिका, नेपाली साहित्यको माध्यमिककालको इतिहास तथा नेपालमा अनुवादको इतिहास । यो कृतिका परिकल्पनाकार कमलमणि दीक्षित हुन् । उनको असामयिक निधनले पुस्तक प्रकाशनमा केही ढिला हुन गएको प्रधान सम्पादक प्रा.डा. माधवप्रसाद पोखरेलले उल्लेख गरेका छन् ।

लोक–साहित्यको नालीबेली

पहिलो खण्ड लोक–साहित्यको छ । यसका सम्पादक प्रा.डा. चूडामणि बन्धुले अहिलेसम्मको नेपाली लोक–साहित्यको अध्ययन तथा अनुसन्धानको इतिहास दिने प्रयास गरेको उल्लेख गरेका छन् । यस खण्डमा एघार अध्याय छन् । पहिलो अध्यायका लेखक अनुसन्धाता प्रा.डा.चूडामणि बन्धुबाट ‘लोकवार्ता, लोक–साहित्य, लोक–भाषा, लोक–मन्त्र र चुट्किला’ शीर्षकमा १४ पृष्ठ लामो लेख छ ।

लोक–साहित्यका विधा र विधा सिद्धान्तमा लोकवार्ताको प्रकृतिको चर्चा भएको छ । यी विधा (लोककाव्य, लोकगाथा आदि) मौखिक हुन्छन्, यसमा श्रोता र वक्ता एक–अर्कालाई बुझ्ने रैथाने हुन्छन् । त्यसैले सम्पादनकर्ताले प्रत्येक पटक प्रस्तुत गर्दा ध्वनि वा शब्दमा रूपान्तरण गरेर मधुरता भर्ने प्रयास गर्ने सन्दर्भ उल्लेख छ ।

यहाँ उल्लेख भएका लोकवार्ताका सामग्री श्रुतिबाट आएकाले वैदिककाल छुन्छन् । तर यसबारे गरिएको सर्वे–खोजीको इतिहास भने छोटो देखिन्छ । पठन–पाठनका लागि यी लोकवार्ताका मौखिक सामग्री प्रकाशनमा ल्याइएका छन् ।

डा. बन्धुका अनुसन्धानमूलक धेरै कृति प्रकाशित छन् । यस पाठले बहुभाषी, बहुसंस्कृतिको धनी नेपाल देशमा प्रचलित लोकवार्ताको जानकारी गराउनेछ ।

दोस्रो अध्यायमा डा.ध्रुवप्रसाद भट्टराईको नेपाली लोक कवितामा गहन अध्ययन छ । लोककथा, लोकगीत आदि भन्दा भिन्न लोक कविताको परिभाषा खोजी गरिएको छ । प्रायः सबै विद्वान्हरूले स्वच्छन्द रूपमा गाउँदै आएका पद्यात्मक लोक अनुभूतिलाई लोकपद्य भन्ने गरेको धारणा प्रस्तुत गरिएको छ । यस पाठभित्र ‘बिहे प्रश्नोत्तरी’, ‘कविता’, ‘खाँडो’, ‘सिलोक’, ‘सवाई’, ‘लोक दोहा’, ‘बाल कविता’ का परिभाषा र उदाहरणका साथमा इतिहासको रूपरेखा कोरिएको छ ।

डा. गोविन्द आचार्यबाट ‘सामान्य नेपाली लोकगीत’ को खोजी गरिएको छ । टप्पा, झ्याउरे, नील गीत, देउडा, झ्याङा गीत, रोइला आदिका उदाहरण प्रस्तुत गरिएको छ । यसमा सङ्कलित लोकगीतले सम्बन्धित विषयको पठनपाठनमा सक्दो सहयोग पुग्छ ।

नेपाली भाषामा मोतीराम भट्टबाट शुरू भएको भनिए पनि यसको प्राचीन इतिहास वैदिककालसम्म पुग्छ । जितारी मल्ल, जालन्धरी मल्लको चैत (१३१०) लाई प्रारम्भको इँटा मानिएको छ ।

डा. गोविन्द आचार्यबाट ‘सामान्य नेपाली लोकगीत’ को खोजी गरिएको छ । टप्पा, झ्याउरे, नील गीत, देउडा, झ्याङा गीत, रोइला आदिका उदाहरण प्रस्तुत गरिएको छ । यसमा सङ्कलित लोकगीतले सम्बन्धित विषयको पठनपाठनमा सक्दो सहयोग पुग्छ ।

प्रा.डा. कुसुमाकर न्यौपानेले ‘नेपाली विशेष लोकगीत’ लेखमा श्रमगीत, पर्वगीत, संस्कार गीतलाई मूल विभाजनमा देखाइएको छ । यी गीत विशेष अवसर वा घटनामा गाइने भएकाले विशेष लोकगीत भनिएको हो । जेठे, असारे जस्ता गीत त्यही महीनामा गाउने चलन छ ।

प्रा.डा. जयराज पन्तबाट नेपाली ‘लोक–काव्य’ शीर्षकभित्र आँठू, अवतार, कर्खा, खाँडो, चाँचरी, बारमासा जस्ता लोककाव्यको चर्चा गरिएको छ । यो खण्डमा परिवर्तनको हावाले सांस्कृतिक सामाजिक सम्पदालाई बिर्सिने सम्भावनामाथि चिन्ता व्यक्त गरिएको छ ।

‘नेपाली लोकगाथा’ शीर्षकका अनुसन्धाता प्रा.डा. होमनाथ सापकोटाबाट गाथा (गाउने र नाच्ने–ब्यालेड) का विषयमा गहन अध्ययन गरिएको छ । जसमा कथाको जस्तो आख्यान तत्त्व हुन्छ । यसलाई गीतिकथा वा कथागीत भनेर चिनाउन सजिलो हुन्छ । यस उपविधामा चरित्र वा वीरताको प्रशंसा गरिन्छ ।

प्रा.डा. जीवेन्द्रदेव गिरीको ‘लोक नाटक र लोक नाच’ लेखमा सोरठी, लीला, कृष्णका जीवनी–लीलाको उल्लेख छ । यो खण्डमा प्रा.डा. मोतीलाल पराजुलीको ‘नेपाली लोककथा’ प्रा.डा. कपिल लामिछानेको ‘नेपाली गाउँखाने कथा’, प्रा.कुलप्रसाद कोइराला र डा.शिवप्रसाद पौडेलको ‘नेपाली उखान’ र डा. ध्रुवकुमार घिमिरे र सखिशरण सुवेदीको ‘नेपाली टुक्काको स्वरूप र प्रयोग’ आलेखहरू पनि छन् ।

प्रारम्भिककालीन साहित्यको उत्खनन्

दोस्रो खण्डलाई ‘प्रारम्भिककालको नेपाली साहित्यको पूर्वपीठिका’ नाम दिइएको छ । प्रा.डा.दयाराम श्रेष्ठले सम्पादन गरेको यो खण्डमा साहित्यको आदिकाल मानिएको समयको उत्खनन्को प्रयास छ । यो खण्डमा तीन अध्याय छन् ।

प्रारम्भिककाल भनेर १८०० सालदेखि १९३९ सालसम्मलाई समेटिएको छ । यो १४० वर्षको नेपाली आख्यान र आख्यानेतर विधाको अवस्थाले निश्चित स्वरूप लिन नसकेको, कथा र उपन्यासको स्वरूपको आ–आफ्नो प्रकृति बन्न बाँकी रहेको तथा पाण्डुलिपिमा सीमित भएकाले हराएर जाने सम्भावना प्रबल रहेको उल्लेख छ।

संस्कृत साहित्यको अध्ययन र सिर्जनाले त्यस समयको नेपाली काव्य–स्रष्टालाई प्रभाव पारेको थियो । राजा जनकका शासनकालदेखि नेपालमा संस्कृत भाषा र साहित्यको साधना रहेको, लिच्छवि राजाहरू विद्वान्को मान गर्थे भन्ने कारणले पनि संस्कृत साहित्यको उर्वर भूमि नेपालमा मल्लकालमा समेत काव्यरचना परम्परा जीवन्त रहेको इतिहास खोजी गरिएको छ । संस्कृत साहित्यको प्रभावबाट अनुवाद साहित्य हुँदै नेपाली भाषामा कृतिहरू सिर्जना गरिए।

भक्तिधारा (१८७४–१९३९) मा प्रवेश गरेको नेपाली साहित्यको प्राथमिककालका रचनाले १८७० सालदेखि वीरभावलाई गौण बनाएर भक्तिभावलाई प्रमुख स्थान दिएपछि ईश्वरभक्ति र राजभक्तिका रचना सिर्जना भए । राजभक्तिमा सत्तामा रहेका जोसुकैको भक्ति र देवभक्तिमा सगुण भक्ति तथा निर्गुण भक्तिका रचना रचिए। यसको कारण देशको परिस्थिति र शक्तिको उपासना गर्ने प्रयत्न थियो ।

उदाहरणका रूपमा शक्तिवल्लभ अर्यालको महाभारत विराटपर्व अनूदित कृतिलाई लिन सकिन्छ । सुवानन्ददास, उदयानन्द अज्र्याल, शक्तिवल्लभ अर्याल, प्रेमनिधि पन्त जस्ता कविहरूका रचनाको पाठ र समीक्षा पनि कृतिमा परेका छन् । पृथ्वीनारायण शाह रचित– ‘फिरंगानते फिरंगी’ ‘बाबा नरभूपाल साहकि दुहाई’ र ‘बाबा गोरखनाथ’ तथा गद्यमा दिव्योपदेश जस्ता रचनाको मूल्याङ्कन समीक्षा गरिएको छ । कवि भानुदत्त, सुन्दरानन्द बाँडा, विसुधा अधिकारी (‘जुम्लाको कल्यान राजवंशावली’), रामभद्र पाध्या, राधावल्लभ अज्र्याल, वाणीविलास पाण्डे, अमृतानन्द, गुमानी पन्त, लक्ष्मण कवि र तिनका रचनाको सङ्ग्रह यस ठेलीको अभिन्न अङ्ग हो ।

भक्तिधारा (१८७४–१९३९) मा प्रवेश गरेको नेपाली साहित्यको प्राथमिककालका रचनाले १८७० सालदेखि वीरभावलाई गौण बनाएर भक्तिभावलाई प्रमुख स्थान दिएपछि ईश्वरभक्ति र राजभक्तिका रचना सिर्जना भए । राजभक्तिमा सत्तामा रहेका जोसुकैको भक्ति र देवभक्तिमा सगुण भक्ति तथा निर्गुण भक्तिका रचना रचिए । यसको कारण देशको परिस्थिति र शक्तिको उपासना गर्ने प्रयत्न थियो।

स्वाभिमानी वीर नेपालीले सं. १८७१ मा इष्ट इण्डिया कम्पनी सरकारको हाँकलाई सामना गर्दा, नेपाली वीरहरूसँग हातहतियार र पूर्वतयारीको कमीले गर्दा ‘सुगौली सन्धि’ (सन् १८१५, डिसेम्बर–२) मा नेपालको भूभाग खुम्चिएको इतिहासले वीरधाराका रचनाभन्दा भक्तिधाराका रचना खारिए।

भक्तिधाराका ईश्वरीय भक्ति र निर्गुण भक्ति, सगुणभित्र कृष्ण भक्ति र राम भक्तिको रेखाङ्कन गरिएको छ । हरेक रचनाकार र तिनका रचनामा पाइने विशेषता अगाडिका पाठक र तिनको विश्लेषण, शोधार्थीका सप्रमाण प्रस्तुत सन्दर्भहरू गाढा अक्षरमा देखाएर शोध–खोजको नयाँ जुक्ति अवलम्बन गरिएको छ । भक्तिरसका स्रोत ‘रामायण’ तथा ‘महाभारत’ हुन् ।

यस अनुसन्धानले रचना र तिनले दिने आदर्श, शृङ्गार र भक्तिका पाठको गहन मूल्य निर्देश गर्छ ।

माध्यमिककालीन साहित्यको समीक्षा

डा. नारायण गड्तौलाबाट माध्यमिककालको अध्ययनका क्रममा आख्यानको प्रारम्भ बिन्दुमा फरक मितितिथि देखाउने, इतिहासकारले आ–आफ्ना आधार प्रस्तुत गर्ने गरेको इतिहासमाथि सर्वेक्षण गर्दै सामाजिक, राजनीतिक कारणबाट गद्य–पद्य प्रभावित रहेको प्रमाण खोजी गरिएको छ । यसमा विद्वानहरूका मतलाई आधार मानेर सं. १९४६ को वीरसिक्कादेखि १९७४ सालको सूक्तिसिन्धुसम्मको साहित्यिक इतिहासको खोजी गरिएको छ । नाटकतर्फ बालकृष्ण समको ‘मुटुको व्यथा’ (१९८६) पछि अनूदित परम्परामा कमी आउँछ।

पद्यतर्फको अर्को लेखका लेखकद्वय क्रमशः प्रा.डा. काशीनाथ न्यौपाने र डा. नारायण गड्तौलाबाट उदाहरण स्वरुप राजीवलोचन जोशी, होमनाथ खतिवडा, मोतीराम भट्ट, लक्ष्मीदत्त पन्त, पहलमान सिंह स्वाँर र शम्भुप्रसाद ढुङ्ग्याल जस्ता धेरै कविका रचना प्रस्तुत गरिएको छ । यस शृङ्गार काललाई भक्ति, प्रेम र नीतिले प्रभाव पारेको थियो।

डा. अशोक थापाले नाटकतर्फको इतिहास खोजी गरेर ‘हास्यकदम्ब’ देखि ‘मुद्राराक्षस’ ‘शाकुन्तल’, ‘प्रियदर्शिका’, ‘पद्मावती’ आदि अनूदित कृतिको नाट्य परम्परा र केही मौलिकता पनि रहेको निष्कर्ष निकालेका छन् । मञ्चनको दृष्टिले योग्य–अयोग्यको टिप्पणीका लागि ‘अटलबहादुर’ र ‘हेमलेट’ को तुलना गरिएको छ । ‘अटलबहादुर’ लाई मौलिक नाटक र स्वाँरलाई पहिलो दुःखान्तकार भनिएको छ।

माध्यमिककालीन नेपाली गद्याख्यानका लेखक डा. चन्द्रमान श्रेष्ठले कथा उपन्यासको स्रोतको वर्गीकरण गरेका छन् । उनले कथा र उपन्यासको विकास क्रममा त्यस युगका पत्रिकाको योगदानमाथि ऐतिहासिक सर्वेक्षण गरेका छन् । त्यस समयमा गिरीशवल्लभ जोशीदेखि रूपनारायण सिंहसम्मको इतिहास कोरिएको छ।
माध्यमिककालको निबन्धतर्फ डा. रजनी ढकालको लेखमा ऐतिहासिक अध्ययन गरिएको छ । यसमा १९४० सालपछिको मुद्रण सुविधा, पत्रपत्रिकाको युग, गोरखापत्र (१९५८) का सम्पादकीयहरू, ‘माधवी’, ‘चन्द्रिका’ जस्ता पत्रिकाले निबन्ध विधालाई उठाउने काम गरेको जनाइएको छ । त्यस युगका हरिहर आ.दी., जयपृथ्वीबहादुर सिंह, राममणि आ.दी., शम्भुप्रसाद ढुङ्ग्याल, दुर्गादेवी आचार्याणीका निबन्धको समीक्षा गरिएको छ।

डा. साधना प्रतीक्षाको ‘पत्रपत्रिकाको इतिहास’ मा राजनीतिक एवम् सामाजिक सन्दर्भ जोडेर पत्रपत्रिकाको योगदानको युग चिनाइएको छ । राणाशासनको मूल प्रवाहको चर्चा, जङ्गबहादुर र उनको हाते प्रेस र छपाइको इतिहास, सुधासागर, गोरखापत्र र तिनको योगदान, धारावाहिक रूपमा प्रकाशित हुने उपन्यास, जीवनी, निबन्ध जस्ता विधामा पत्रिकाको योगदानमा प्रकाश पारिएको पाइन्छ । प्रतिभाशाली नेपाली युवाहरू प्रवासमा बस्थे, त्यसैले प्रवासबाट प्रकाशित पत्रिकाको झन् ठूलो योगदान (‘सुन्दरी’, ‘माधवी’) रह्यो।

‘अन्य गद्य विधा’ तर्फको डा. गीता त्रिपाठीको लेखमा जीवनी, संस्मरण, दैनिकी, यात्रावर्णन, समालोचना जस्ता आख्यानइतर विधाको इतिहास अध्ययन, मनन् र चिन्तन गरिएको छ । जीवनीकार मोतीराम भट्टले भानुभक्त आचार्यको जीवनी लेखिदिए, चिरञ्जीवी शर्माले ‘आफ्नु कथा’ (१९५५) लेखे भने दैनिकी (डायरी) लेखनमा एक विदेशी कमान्डर इन चिफ रावर्टको नाम उल्लेख हुन आएको छ । डा. त्रिपाठीले माध्यमिक कालको ५० वर्षको छोटो समयमा नेपाली साहित्यका सबै विधाको निर्माण र उत्थान हुनसकेको निष्कर्ष निकालेकी छिन् ।

सन् १९७० को दशकमा सर जेम्स होम्जले एक कार्यपत्र प्रस्तुत गर्दै अनुवादलाई प्राज्ञिक क्षेत्रको उज्यालो दिएका थिए । त्रिवि भाषा विज्ञान केन्द्रीय विभागले अनुवाद विषयको पाठ्यांश (२०५५) दिएपछि र नेपाली विभागको पाठ्यक्रम (२०५६) मा अनुवाद विषयले स्थान पाएपछि ‘प्राज्ञिक क्षेत्रको उज्यालो’ ले बल्ल प्राज्ञिक मान्यता पायो।

अनुवादको इतिहास

यो कृतिको अन्त्यमा बलराम अधिकारीको अनुवादको इतिहास र समीक्षा समावेश छ । अनुवाद कार्य अघिअघि र मौलिक सिर्जना पछि हिंडेको इतिहासमा ‘महाभारत विराट पर्व’ (१८२७), ‘हास्यकदम्ब’ (१८५५), ‘रामायण’ (१८९८–१९१०) जस्ता प्रमाणहरू जुटाइएका छन् । अभिलेख राख्ने परम्परा नभएकाले अनुवादको लामो इतिहास देखिए पनि प्रमाणित रूपमा कम बाँचेको अन्दाज प्रस्तुत गरिएको छ।

नेपालको भूमिमा १२३ भाषा बोलिने भए पनि ती भाषाले नेपाली भाषाले जस्तै राजनीतिक संरक्षण पाएका छैनन् । त्यही कारणले मौखिक साहित्य र चिन्तन परम्परा मर्न सक्ने संभावना छ । अनूदित रूप दिएर तिनको संरक्षण गर्नु जरूरी भएको अधिकारीको तर्क छ।

सन् १९७० को दशकमा सर जेम्स होम्जले एक कार्यपत्र प्रस्तुत गर्दै अनुवादलाई प्राज्ञिक क्षेत्रको उज्यालो दिएका थिए । त्रिवि भाषा विज्ञान केन्द्रीय विभागले अनुवाद विषयको पाठ्यांश (२०५५) दिएपछि र नेपाली विभागको पाठ्यक्रम (२०५६) मा अनुवाद विषयले स्थान पाएपछि ‘प्राज्ञिक क्षेत्रको उज्यालो’ ले बल्ल प्राज्ञिक मान्यता पायो।

शिक्षाशास्त्रतर्फ अङ्ग्रेजी विभागले ‘ट्रान्सलेसन स्टडिज’ (२०५६) लागू गरेको छ । त्यसको पाठ्यक्रमलाई २०६७ सालमा अद्यावधिक पनि गरिएको छ । यसले विद्यार्थीलाई अनुवादको आधारभूत ज्ञान दिइरहेको छ।

नेपाल प्रज्ञा–प्रतिष्ठानले अनुवादको ऐतिहासिक अध्ययन गराएको छ । त्रिवि बाहेक अन्य विश्वविद्यालयको स्नातक र स्नातकोत्तर तहको पाठ्यक्रममा अनुवाद सिद्धान्त र प्रयोग पठनपाठनमा छन्।

प्रतिकृया दिनुहोस