कृषि ऋण गाडी र साडीमा जान्छ तर किसानमा जाँदैन, अब रोकिन्छ: कृषि मन्त्री भुसाल
कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुसालले किसानलाई दिइने अनुदान र सहुलियत ऋणको दुरुपयोगलाई रोक्ने बताएका छन्।
प्रतिनिधिसभामा मन्त्रालयगत बजेटमाथि छलफलमा उठेका प्रश्नको उत्तर दिँदै मन्त्री भुसालले विगतमा किसानका नाममा विचौलियाहरूले नै अनुदान खाइदिएको भन्दै अब कृषि अनुदान र सहुलियत ऋण किसानकै खातामा जाने व्यवस्था गर्ने बताएका हुन्।
तथ्यअनुसार ५० अर्ब ऋण बाँडे तर त्यसको ३३ प्रतिशत पनि किसानसम्म नपुगेको उनको भनाइ थियो । "कहिलेकाहीँ अलिक ठट्यौलो भाषामा भन्दा गाडीमा जान्छ साडीमा जान्छ, अन्त अन्त जान्छ । तर, किसानमा जाँदैन । यसलाई रोकिदिनुपर्छ" उनले भने "त्यसलाई अब माटोमा नै जान दिनुपर्छ भनेर सोच्यौं ।" उनले आगामी आर्थिक वर्षदेखि मलमा जस्तै बीउमा पनि अनुदान दिन शुरु गरिएकोे बताए।
कृषि अनुदानको रकम र अधिकांश शीर्षकको बजेट तल्लो तहमा पठाउन सक्नु आफ्नो सफलता रहेको मन्त्री भुसालको दाबी छ। "माथि पैसा राखेर मन्त्री र सचिवले बजेटलाई स्वस्थानीको प्रसाद जस्तो गरी बाँढ्ने कामलाई रोक्ने र तल्लो तहमा बजेट पुर्याउने भन्यौं," भुसालले भने‚ "आफ्नाको, ठूलाको वा अंग्रेजी भाषामा लेखिएका प्रतिवेदनका आधारमा पैसा बाँढ्ने र जसले उत्पादन गर्छ उसले पैसा नपाउने अवस्थाको अन्त्य गरिनुपर्छ। त्यही कारण अहिले कृषि मन्त्रालयको स्थानीयकरण भएको छ र सबै बजेट तल्लो तहमा गएको छ।"
बाली बीमा र हरेक बालीको न्यूनतम समर्थन मूल्य तोकिनुपर्ने भन्दै भुसालले आफूले किसानको नाफाको कुरा गरेको नभई बचतको कुरा गरेको बताए । "न्यूनतम समर्थन मूल्यमा कृषकले वस्तु बेच्न सकेनन् भने सरकारले किनिदिनुपर्छ, छिमेकी मुलुक भारतमै पनि यस्तो अभ्यास छ," उनले भने।
मन्त्री भुसालले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा विगतमा अति राजनीतिकीकरण र गुटगतका करण हुँदा बिग्रेको भन्दै त्यसलाई पनि रोक्ने बताए।