क्वारेन्टिनमा योग शिक्षा
सर्मिला बुढाथोकी
दोलखाका विभिन्न गाउँपालिकामा रहेका क्वारेन्टिनहरूमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चरिकोटले योग शिक्षा शुरु गरेको छ।
क्वारेन्टिनको वातावरण मैत्रीपूर्ण बनाउन र रोग प्रतिरोधात्मक क्षमता विकास गर्न भन्दै योग शिक्षा शुरु गरिएको केन्द्रका निमित्त प्रमुख विमल श्रेष्ठको दाबी छ।
केन्द्रले अहिले दोलखाको कालिञ्चोक गाउँपालिकामा रहेका ६ वटा र मेलुङ गाउँपालिकामा रहेको एउटा गरी सात वटा क्वारेन्टिनमा योग शिक्षा चलाइरहेको निमित्त प्रमुख श्रेष्ठले बताए।
दुई वटा गाउँपालिकाका सात वटा क्वारेन्टिनमा बसेका २७४ जनालाई योग शिक्षा दिइएको श्रेष्ठको भनाइ छ । केन्द्रले योग शिक्षासँगै रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने अश्वगन्धा चूर्ण, गुडुची, एसटी मधु चूर्ण, च्यवनप्रास जस्ता आयुर्वेदिक औषधि समेत वितरण गरेको जनाएको छ।
केन्द्रले जिल्लामा रहेका दुई वटा नगरपालिका र सात वटा गाउँपालिकाका सबै क्वारेन्टिनहरूमा योग शिक्षा दिने लक्ष्य राखेको भएपनि केन्द्रका स्वास्थ्यकर्मीहरूलाई क्वारेन्टिनसम्म पुग्न र आयुर्वेदिक औषधि वितरण गर्न आर्थिक समस्या भएको निमित्त प्रमुख श्रेष्ठले बताए । अहिले केन्द्रबाट गएर एक दुई दिन बसेर योग शिक्षा दिने र पछि उनीहरू आफैले नियमित योग गर्ने श्रेष्ठले बताए।
मेलुङ गाउँपालिकाका प्रमुख नरबहादुर श्रेष्ठले केन्द्रलाई आर्थिक समस्या भए गाउँपालिकाले केही सहयोग गर्न सक्ने उल्लेख गर्दै त्यस्तो प्रस्ताव अहिलेसम्म नआएको बताए।
दोलखा जिल्लामा हाल ७ सय ६८ वटा क्वारेन्टिन रहेको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले बताए । अहिले दोलखामा भारत लगायत तेस्रो मुलुकबाट आएका ६१ महिला र ४ सय ६५ जना पुरुष गरी ५ सय २६ जना क्वारेन्टिनमा रहेको प्रमुख झाले बताए।