संसदमा शेरबहादुर तामाङको प्रश्न : हामी भएको बजेट मात्रै तानातान गर्ने कि बढाउनेतिर पनि सोच्ने?
सांसद शेरबहादुर तामाङले हामी सांसदहरू बजेट बढाउनेतिर सोच्नुको साटो भएको बजेट तानातान गरेर मात्रै बसेको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा मन्त्रालयगत बजेट शीर्षकमाथिको छलफलका क्रममा उनले संघीय सांसदहरू ५/१० लाखको योजना पर्दा दंग हुने गरेको भन्दै बजेटको आकार बढाउनेतिर नसोच्ने गरेको बताए । उनले भने, "५/१० लाखको योजना पर्दा हामी संघीय सांसद नाक फुलाउँछौं, कसले २/४ करोड बढी लैजाला, कसले कम लैजाला भनेर यत्रो संसदमा हामी झगडा गरेर बसेका छौं, तर हामीले हाम्रो बजेटको भोल्युम बढाउनेतर्फ ध्यान दिएनौं, उत्पादन बढाउनेतर्फ सोचेनौं ।"
"सरकारले १४/१५ खर्बको बजेट ल्याउँछ, त्यसलाई ३० वा ५० खर्ब बजेट कसरी पुर्याउने भन्ने आँट हामीसँग छ कि छैन, यसतर्फ सोच्नुपर्ने तर त्यसतर्फ हाम्रो पनि ध्यानै गएन," उनले प्रश्न गरे "यो मुलुकमा राम्रो उत्पादन गर्न सकिन्छ, त्यसैबाट बजेट बढाउन सकिन्छ, लाखौंलाई रोजगारी दिन सकिन्छ तर श्रम शक्ति कमाउन विदेश जाने, खानेकुरा पनि आयात गरेर खाने कहिलेसम्म ?"
अहिले पनि हामी वार्षिक साढे २ खर्बभन्दा बढीको खाद्यान्न आयात गरेर खाइरहेका छौं, तर अब उत्पादन र बजेट बढाउनेतिर सोच्नुपर्ने सांसद तामाङले बताए ।