प्रदेश २ को प्रदेशसभा बैठक विद्युतीय माध्यमबाट हुँदै
प्रदेश २ को शनिबारको प्रदेशसभा बैठक अनलाइन (विद्युतीय) माध्यमबाट हुँदैछ। प्रदेशसभा सचिवालयका पाँच कर्मचारी (मर्यादापालक) र एक मन्त्रीका स्वकीय सचिवलाई बिहीबार कोरोनाभाइरस संक्रमण देखिएपछि सभामुखको पहलमा सबै दलहरुबीचको छलफलपछि अनलाइन बैठक बस्ने तयारी भएको हो।
प्रदेशसभा बैठक दिउँसो ३ बजे बस्ने कार्यतालिका छ। मर्यादापालकहरुमा संक्रमण पुष्टि भएपछि बिहीबारको प्रदेशसभा बैठक स्थगित गरिएको थियो भने शुक्रबार केही बेर मात्र बसेको थियो।
अनलाइन बैठक सञ्चालनका लागि नियमावली संशोधन गरिसकेको प्रदेश सभामुख सरोजकुमार यादवले जानकारी दिए। उनले भने, "हामीले प्रदेशसभा कार्य सञ्चालन नियमावली संशोधन हिजो सर्वसम्मत रुपमा गरिसक्यौं, अब संसद् बैठक र संसदीय समितिहरुको बैठक पनि अनलाइनबाटै हुन्छ।" अनलाइनको माध्यमबाट संसद् बैठक सञ्चालन गर्न लागिएको नेपालको संसदीय इतिहासमै यो पहिलो हो।
सबै दलका ८/१० जनाको दरले बैठक स्थलमै सहभागी हुने र अन्य अनलाइनबाटै सहभागी हुनेछन्। कुनै विषयमा मत विभाजन हुँदा पनि अनलाइनबाट गर्ने व्यवस्था गरिएको छ। प्रदेश २ मा १०७ जना प्रदेशसभा सदस्य छन्।
‘पेपरलेस’ प्रदेशसभा
प्रदेश २ को काम-कारबाहीमा प्रविधिको प्रयोग बढाई पेपरलेस अर्थात् कागजरहित बनाउने अभ्यास शुरु गरिएको छ। गएको माघमा प्रदेशसभाको वार्षिकोत्सवमा सबै प्रदेशसभा सदस्यहरुलाई ल्यापटप प्रदान गरिएको थियो।
सभामुख यादवले हिमालखबरसँग भने, "ल्यापटप प्रदान गरे लगत्तै लकडाउन शुरु भयो, तर अब कुनै विधेयकहरुको अध्ययन गर्न कागजमा प्रिन्ट गरेर दिंदैनौं। इमेलमा पठाउने अभ्यास शुरु गर्छौं।"