खेलकुद शनिबार, जेठ २४, २०७७

महामारीका कारण स्थगित विश्वकप छनोट खेल अक्टोबरमा गराउन प्रस्ताव

हिमालखबर

महामारीका कारण स्थगित विश्वकप छनोट खेल अक्टोबरमा गराउन प्रस्ताव

एशियाली फुटबल महासंघ (एएफसी) ले कोभिड–१९ का कारण स्थगित फिफा विश्वकप तथा एशियन कप छनोट खेल चार महीनापछि गराउने प्रस्ताव गरेको छ।

स्थगित खेलहरु अक्टोबर र नोभेम्बरमा गराउन एएफसीले विश्व फुटबल महासंघ (फिफा) लाई प्रस्ताव गरेको हो। गएको चैतमा अष्ट्रेलिया, चाइनिज ताइपेई र जोर्डनसँग छनोट खेल घरेलु मैदानमा खेल्ने तय भए पनि महामारीका कारण स्थगित भएको थियो।

स्थगित खेल ८ र १३ अक्टोबर तथा १२ र १७ नोभेम्बरमा प्रस्ताव गरिएको एएफसीले जनाएको छ। विभिन्न देशका फुटबल संघ सितको भिडियो बैठक पछि एएफसीले उक्त मिति प्रस्ताव गरेको हो।

दोस्रो चरणको छनोट अन्तर्गत नेपालले तीन खेल खेल्न बाँकी छ। ती सबै खेल नेपालले घरेलु मैदानमा खेल्नेछ। एएफसीको प्रस्तावलाई फिफाले अनुमति दिए नेपालले ८ अक्टोबरमा चाइनिज ताइपेई, १३ अक्टोबरमा अष्ट्रेलिया र १२ नोभेम्बरमा जोर्डनसँग खेल्नेछ। समूह बीमा रहेको नेपालले हालसम्म पाँच खेलमा तीन अंक जोडेको छ।

नेपालले चाइनिज ताइपेईलाई पराजित गरी उक्त समूहमा चौथो स्थान बनाएको थियो। हालसम्मको खेल प्रदर्शनअनुसार, १२ अंकका साथ अष्ट्रेलिया शीर्ष स्थानमा, १० अंकका साथ कुवेत दोस्रो, समान १० अंक नै बनाएको जोर्डन तेस्रो तथा अंक बिहीन अवस्थामा रहेको चाइनिज ताइपेई समूह बी को पुछारमा छ।

प्रतिकृया दिनुहोस