कला/साहित्य शनिबार, जेठ २४, २०७७

‘मृत्युको अघिल्तिर’ कविताको सङ्गीत

हिमालखबर

‘मृत्युको अघिल्तिर’ कविताको सङ्गीत

कृतिः मृत्युको अघिल्तिर विधाः कविता कविः मणि लोहनी प्रकाशकः शिखा बुक्स पृष्ठः ९६ मूल्यः रु.२००

कविता रहस्यमय, प्रतीकमय, लाक्षणिक र खँदिलो हुनुपर्छ,  कविताको विषयवस्तु दार्शनिक गाम्भीर्यले भरिएकोे हुनुपर्छ, ऐतिहासिक र नीतिसम्मत हुनुपर्छ भन्नेहरू पनि छन् । कविताले सर्वसाधारण जनताको समानधर्मितालाई सम्बोधन गर्दै समाजवादी स्वर उराल्नुपर्छ भन्नेहरू । हरेक समालोचकका आ–आफ्नै धारणा हुन सक्छन् ।

कवितामा होस् या आख्यानमा होस् आमपाठकले चाहेको कुरा चिन्तन हो । भावको गाम्भीर्य हो, तर चिन्ता होइन । यस्तै चिन्तन त कवि मणि लोहनीको कविताकृति, ‘मृत्युको अघिल्तिर’ मा ।

एउटा कृतिभित्र आएको दृष्टि नितान्त उही लेखकको मात्रै भयो भने त्यो कृति सामाजिक हुन सक्दैन । कविताको सन्दर्भमा व्यक्तिको निजी अनुभूतिबाट उम्लेको आवेग, उसको प्रगाढ चिन्तनबाट उब्जेको निर्क्याेल र कविको कठोर

तपस्याग्निमा खारिएको कविताको निनाद हरेक मान्छेको साझा अभिव्यक्ति बन्न सक्नुपर्छ । त्यस्तो कविता सधैंका लागि र सबैका लागि हुन सक्छ ।

उत्तरवर्ती नेपाली साहित्यका प्रतिभा मणि लोहनीको दोस्रो कविताकृति मृत्युको अघिल्तिरमा यही सौन्दर्यचेत पाइन्छ ।

यो कवितासङ्ग्रह ‘देशको नाममा’, ‘प्रेमको लय’ र ‘जीवनको उज्यालोमा’ शीर्षकका तीन प्रवाहमा विभाजित छ । जम्मा ३२ वटा कविता समेटिएका छन् । पहिलो प्रवाह ‘देशको नाममा’ का आठ कविताको केन्द्र एकता, स्वतन्त्रता र उज्यालोले दिने सत्वगुण हो ।

कविले चाहेको सत्वगुणले हरेक मान्छेको चाहनालाई प्रतिनिधित्व गरेको छ । साहित्यमा हुने यो खालको गुणलाई फ्रान्सेली चिन्तक गोल्डमानले विश्वदृष्टि नाम दिएका छन् । सङ्ग्रहभित्रको पहिलो कविता ‘मानचित्रमा उभिएर’ मा कविले सम्पूर्ण नेपालीहरूको समानधर्मितालाई यसरी बोलेका छन्—
उभिँदा छुट्टाछुट्टै उभिएजस्तो देखिए पनि
बाँच्दा एक्लाएक्लै बाँचेजस्तो देखिए पनि
हाम्रा नानीहरूले खेल्ने आँगन एउटै छ
एउटै छ उनीहरूले पढ्ने पाठशाला
यही हो चर्च, जहाँ हामीले सँगै मैनबत्ती बालेका छौँ
मस्जिद यही हो, जहाँ हामीले प्रार्थना गरेका छौँ ।
(मानचित्रमा उभिएर,पृ.१८)

महेश क्षितिज

यो कवितामा पोखिएको आवाजमा सामूहिकता छ । कवि आफ्ना कवितालाई माध्यम बनाएर वर्तमान समयका मान्छेको सामूहिक आवाजलाई बोल्न चाहन्छन् । हामी मान्छेसँग भएका अकर्मन्यता, अहङ्कार, ईष्र्या, क्रोध, राग आदि जस्ता रजो र तमोयुक्त गुणलाई त्यागेर सत्वगुणको बाटो रोज्दा मान्छेमा विभेद र असमानताको खाडल नै बन्ने थिएन । सत्व गुण नहुँदा नै जाति, धर्म, नागरिकता र राज्य जस्ता विषयमा हिंसात्मक क्रियाकलाप भएको कविको ठहर छ ।

कविले कवितामा आक्रोस व्यक्त गर्न कोमलताको बाटो राजेका छन् । देशलाई भासमा डुबाउन उन्मुख सरकार, नेता र प्रशाासनप्रति ध्वन्यात्मक शैलीमा आक्रोस पोख्न सक्नु कविको चेत प्रशंसायोग्य छ ।

कवि लोहनी उज्यालाको पक्षमा छन् । ‘अँध्यारोका विरुद्धमा’ शीर्षक दिएर लेखिएका उनका दुई वटा कविताले हामीले भोगिरहेको वर्तमान च्यातिइरहनुको कारणलाई प्रतिबिम्बित गर्छन् । ‘परिचयको खोजी’, ‘अखबार र नानीहरू’, ‘सौन्दर्यको आकार’ र ‘सुख्खा पहिरोमुन्तिर’ जस्ता कविताहरूमा प्रश्नको पहाड उठाएका छन् । तर, प्रश्नहरुमार्फत अन्यौल सिर्जना गरिएको छैन । बरु आशावादको गहिरो रङ मुछिएको छ ।

‘गणतन्त्र नेपाल’ शीर्षकको कविताले वर्तमान समयको राजनीतिक परिवेशको यथार्थ चित्रणलाई उनेको छ । नेपालमा गणतन्त्र आएपछि पनि कुनै परिवर्तन नभएको तिक्ततालाई कवि यसरी पोख्छन्—
मानिसहरू अझै उस्तै छन् जस्तो पहिला थिए
हस्तरेखाजस्तो आफैँमा टाँसिएको गरिबी
कुवाझैँ खोपिल्टा परेका आँखामा हुर्किएको सपना
प्रत्येक पल मरिरहेका तिनै सपनाहरूसँग
शोकगीत गाइरहेको छापामार शैलीको आवेश
(गणतन्त्र नेपाल,पृ.२६)

दोस्रो प्रवाहमा प्रेमको लय शीर्षक अन्तर्गत १३ कविता राखिएका छन् । कवि लोहनीका कविताको विशेषता भनेको चाउचाउ खाएजस्तो नभएर तलाउमा ढुङ्गा हानेपछि पानीले बनाउने रहजस्तो हो । उनको आफ्नै शैली छ । कुनै अघिल्लो पुस्ताको वा अग्रज कविको छायासँग हातेमालो नगरी आफ्नै परिचयको गाउँ खोजेका छन् । कवि लेख्छन्—
भेटिनु र छुटिनु
एउटा प्रक्रिया रहेछ
जसरी पलाउँछन् पातहरू रुखबाट (जीवनको रीत,पृ.४३)

सबै सम्झना बने ।
जब रोक्यौ तिमीले यात्रा
भुरर्र उडेर गयो गीत गाइरहेको चरा (छाडेर जानेलाई,पृ.४५)

आफ्नो बौद्धिक रोमान्सेली शैलीमा यिनी कविताभरि तरलता पस्किन जान्दछन् । यिनका मायाप्रीतिका कवितामा रुञ्चे नाटक (मेलोड्रामा) नभएर दर्शनको गहिराइ पाइन्छ । समाज र संस्कृतिलाई केन्द्रमा राख्दै मायाप्रीतिको बौद्धिक लेपले कवितालाई सजाउन सक्नु कविको शक्तिको पाटो हो ।

कविताकृतिको तेस्रो प्रवाहमा ‘जीवनको उज्यालो’ शीर्षक अन्तर्गत ११ वटा कविता छन् । कल्पनाको उडानमा निस्किन रुचाउने कविले अतीतका अँध्यारा र उज्याला पक्षलाई टिपेका छन् । गीतको छनक आउने यो खण्डका कवितामा कतै जीवनको नाम लेखेको दर्शनढुङ्गाको याद त कतै अस्ताउन लागेको घामजस्तो आफ्नै उमेरको उपस्थिति भटिन्छ ।

प्रकृति, इतिहास, संस्कृति, मिथक आदि विषयलाई प्रस्तुत गर्दै कविले ईश्वर र मान्छेको सम्बन्धको पाटोलाई देखाएका छन् । उनका कवितामा पूर्वीय दर्शनको प्रभाव छ । उज्यालो खोज्ने क्रममा भेटिने मृत्युलाई दार्शनिक आँखाले हेर्छन् । कविको मृत्युचेतलाई उनको शक्ति मान्न सकिन्छ ।
कविलाई थाहा छ मानिसले जन्मसँगै तृष्णा, भोग, ममता, राग लिएर आएको हुन्छ । त्यस्ता किसिमका राग, तृष्णा, भोगबाट मानिस मुक्त हुन सक्दैन । तर, वर्तमानसँग मानिस असन्तुष्ट हुन्छ । यस्तै असन्तुष्टि हुँदाहुँदै पनि मृत्युलाई स्वीकार गर्नुपर्ने उनको ठम्याइ छ–
लाग्छ कविता लेखेकै कारण मारिने छु म
प्रेम गरेकै कारण रोकिने छ मुटुको चाल
सोच्नु काफी छ
यस्तै केही सोच्दासोच्दै एक दिन मारिने छु म
जसरी मारिन्छन् मानिसहरू । (मृत्युको अघिल्तिर,पृ.७५)

कविको कवितात्मक सोच र सिर्जनामा देश, प्रेम र जीवनको उज्यालोले सर्वोपरि ठाउँ ओगटेको छ । भाव र विषयका दृष्टिले कविता रोचक र गहिरा छन् । तर कविले शब्द र भावको पुनारावृत्ति धेरै ठाउँमा गरेका छन् ।

कविता थोरैमा धेरै बुझिने विधा हो । ‘मृत्युको अघिल्तिर’ कवितासङ्ग्रहभित्रका सम्पूर्ण कविताहरू वर्तमान समयका बिम्ब हुन् । वर्तमान समयको समानधर्मिता बोकेको मणि लोहनीको यो सङ्ग्रह पठनीय छ ।

प्रतिकृया दिनुहोस