रुकुम घटनाको छानबिन गर्न संसदीय समिति बनाउने घोषणा
रुकुम पश्चिमको चौरजहारी घटनाको छानबिन गर्न संसदीय समिति गठन हुने भएको छ।
६ जनाको ज्यान जाने गरी रुकुम पश्चिमको सोतीमा भएको घटना मानवता विरोधी भएको भन्दै छानबिनका लागि संसदीय समिति गठन हुनुपर्ने माग हुँदै आएको थियो।
शुक्रबारको संसद् बैठकमा पनि प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले संसदीय समिति नबनाइए सदनको काम-कारबाही अगाडि बढ्न नदिने भन्दै विरोध स्वरुप उठेका थिए। सभामुख अग्निप्रसाद सापकोटाले उभिएका सांसदहरुलाई बस्न आग्रह गर्दै संसदीय विशेष समिति गठन हुने बताएका हुन्।
समितिमा रहने सदस्यहरुको नाम छलफलबाट पछि तय गरिने भएको छ।
१० जेठमा चौरजहारीको सोती गाउँकी मल्ल थरकी युवतीसँग प्रेम सम्बन्ध रहेका जाजरकोटका नवराज विक साथीहरुसहित प्रेमिकालाई लिन जाँदा गाउँलेहरुले आक्रमण गर्दा ६ जनाको मृत्यु भएको भन्दै देशव्यापी विरोध भइरहेको छ।
शुक्रबारको संसद् बैठकमा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले जातीय अहंकार विरुद्ध विधेयक नै ल्याउनुपर्ने बताएका छन्।