नेपालीको उद्धार शुरु, साढे दुई महीनापछि विदेशमा रहेका नेपाली आउन थाले
कोरोनाभाइरस (कोभिड-१९) को जोखिम न्यूनीकरण गर्न नेपाल सरकारले विदेशबाट यात्रु आउन रोक लगाएको साढे दुई महीना पछि नेपालीलाई स्वदेश फर्काउन थालिएकाे छ।
विदेशमा समस्यामा परेका नेपालीको उद्धार गरेर सरकारले आजदेखि स्वदेश भित्र्याउन थालेको हो। नेपालीकाे उद्धार गर्ने क्रममा पहिलो पटक म्यानमार (बर्मा) बाट २६ जना नेपाली लिएर म्यानमारकै सैनिक जहाज शुक्रबार काठमाडौं ल्याइएकाे छ।
जहाज विहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले बताए। ११ चैतदेखि जारी बन्दाबन्दीका कारण विदेशबाट नेपालमा यात्रु आउन सरकारले रोक लगाएको भएपनि बाहिर जाने विदेशी यात्रुका लागि भने चार्टर उडान गर्न दिएको थियो।
विमानस्थल कार्यालयका अनुसार बन्दाबन्दीपछि ६ हजार भन्दा बढी विदेशी यात्रुलाई सम्बन्धित देशले चार्टर गरेर लगेको भएपनि नेपालीलाई ल्याउन भने शुक्रबार देखि मात्रै थालिएको हो। अब सरकारले विदेशमा अप्ठ्याराेमा परेका यात्रुलाई ल्याउने योजना तयार पारिरहेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार, बर्माले नेपालमा रहेका ४३ जनालाई लैजाने भएको छ। क्षेत्रीका अनुसार यो जहाज बर्माको एयरफोर्सको हो। बर्मामा कार्यरत नेपालीहरू काम नपाएर अलपत्र परेपछि नेपाल सरकारको अनुरोधमा बर्माले आफैं नेपाल ल्याइदिएको उल्लेख छ।
नेपाली लिएर आएको सो जहाजले फर्किंदा पनि काठमाडौंमा रहेका बर्मेली नागरिक लिएर फर्कने भएको हो। सरकारले नै विभिन्न देशमा समस्यामा परेका नेपाली कामदार, अध्ययनका क्रममा गएका विद्यार्थी तथा अन्य नेपाली नागरिक स्वदेश फर्काउन चार्टर्ड उडान शुरु गर्न लागेको छ।
आगामी पाँच दिनमा विभिन्न देशमा रहेका नेपालीलाई स्वदेश फर्काउने गरी तयारी गरेको भएपनि बर्माले भने आफैं नेपालीलाई ल्याइदिएको हो। विमानस्थल कार्यालका अनुसार शुक्रबार नै संयुक्त अरब इमिरेट्स (युएई) बाट पनि चार्टर उडान हुने भएको छ।
युएईबाट दिउँसो ३ बजे एयर अरेवियाको जहाजले १६८ जना नेपाली लिएर काठमाडौं आउने भएको छ। क्षेत्रीका अनुसार शुक्रबार श्री एयरलाइन्सले १२ जना यात्रु लिएर दिल्ली गएको छ भने हिमालयल एयरलाइन्सको जहाज स्वास्थ्य सामग्री लिन चीन गएको छ ।