आरडीटी रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टिनबाट फर्काइएका युवकको संक्रमणबाट मृत्यु
सुर्खेत पञ्चपुरी नगरपालिका–१ हाँसेगाउँका एक युवकको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार, मृत्यु भएपछि स्वाब परीक्षण गर्दा कोभिड–१९ पोजेटिभ रिपोर्ट देखिएको हो।
गएको ७ जेठमा भारतबाट फर्किएका ती २० वर्षीय युवकलाई १४ दिन क्वारेन्टिनमा राखिएको थियो। १४ दिन क्वारेन्टिनमा राखिए पछि ती युवालाई आरटीडी परीक्षण गरी घर फर्काइएको नगरपालिकाका मेयर उपेन्द्र थापाले बताए। उनले भने, “१४ दिन क्वारेन्टिनमा राख्यौं। आरटिडी परीक्षण गर्दा नेगेटिभ आएपछि घर फर्काइएको हो।”
तर, २१ जेठमा घर फर्काइएका ती युवकको भोलिपल्ट बिहान नै मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। २२ जेठ बिहान सवा दुई बजेतिर ती युवकको मृत्यु भएको थियो।
मृत्यु भएपछि प्रदेश अस्पताल सुर्खेतमा स्वाब परीक्षण गर्दा कोभिड–१९ पोजेटिभ रिपोर्ट देखिएको अस्पतालले विज्ञप्तिमार्फत् जानकारी दिएको छ। संक्रमण पुष्टि भएपछि स्वास्थ्य मन्त्रालयले तय गरेको कार्यविधिअनुसार, नेपाली सेनाले ती युवकको शव अन्त्येष्टि गरेको मेयर थापाले बताए।
भारतबाट फर्किएका ती युवालाई विद्यापुरस्ति जनता माविको क्वारेन्टिनमा राखिएको थियो। मेयर थापाका अनुसार, ती युवक सँगै क्वारेन्टिनमा राखिएका ४२ जनालाई आरटीडी रिपोर्टका आधारमा घर फर्काइएको हो। “आरटीडी रिपोर्ट नेगेटिभ देखिए पछि घर पठाइएको थियो। तर, मृत्यु भएको खबर आयो”, उनले भने।
यो सँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या एघार पुगेको छ। संक्रमित संख्या २ हजार ६३५ पुगेको छ। त्यस मध्ये २९० जना उपचारपछि निको भएर घर फर्किएका छन्।