टिप्पणी शनिबार, जेठ २४, २०७७

आयुर्वेद र संगीत चिकित्साः रागले बिरामी निकाे पार्छ भने स्वस्थलाई राेगी पनि बनाउँछ

हिमालखबर

आयुर्वेद र संगीत चिकित्साः रागले बिरामी निकाे पार्छ भने स्वस्थलाई राेगी पनि बनाउँछ
स्केच: भानु भट्टराई

मानिस जस्तो ध्वनिको सम्पर्कमा बस्छ त्यस्तै प्रभाव पर्छ । अर्थात् प्रिय ध्वनिको सम्पर्कमा बस्दा शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ भने अप्रिय ध्वनिको सम्पर्कले विभिन्न खालका रोग उत्पन्न गराउँछ ।

डा. रामदेव पण्डित

संगीत चिकित्सा अहिले पश्चिमा जगतमा निकै प्रसिद्ध र प्रतिष्ठित बन्दै गएको छ । भनिन्छ संगीतको सम्मोहन शक्तिले जंगली एवं विषालु जीवजन्तुहरूलाई समेत वशमा पार्न सकिन्छ । यसमा ठूलाठूला संरचना भत्काउन, वर्षा गराउन, फूल फुलाउन र भूतप्रेत आदिलाई बोलाउन वा भगाउन सक्नेसम्मको शक्ति हुन्छ । संगीतमा आत्मालाई जगाउन सक्ने अद्भुत शक्ति हुन्छ । त्यसैले संगीत मन नपराउने मानिस विश्वमा शायदै कोही होलान् ।

मानव इन्द्रियहरूलाई असात्मय (अप्रिय) विषयहरूसँग लामो समयसम्म सम्पर्कमा राख्दा त्यसले रोग उत्पन्न गराउँछ । आयुर्वेदमा असात्मयइन्द्रियार्थ (अप्रिय विषय) संयोगलाई रोगको एक बृहत् कारण बताइएको छ ।

त्यसैगरी प्रिय विषयहरूसँगको सम्पर्कमा रहँदा त्यसले स्वास्थ्य एवं दीर्घायु प्राप्त हुन्छ । कान एउटा इन्द्रिय हो, जसको इन्द्रियार्थ (विषय) ध्वनि हो । कानलाई सात्मय (प्रिय) ध्वनिहरूको सम्पर्कमा राख्दा मानवको शारीरिक र मानसिक स्वास्थ्य कायम रहन्छ र असात्मय (अप्रिय) ध्वनिको सम्पर्कमा ल्याउँदा त्यसबाट रोग उत्पन्न हुन्छ ।

यही जगमा संगीत चिकित्साको विकास भएको मान्न सकिन्छ । संगीत भनेको गीत, गायन र वादन तीनैवटा पक्षको संयुक्त रूप हो ।

वैदिककालदेखि नै पूर्वमा संगीत पर्यावरणीय तथा मानवीय स्वास्थ्य एवं चेतना विकास–विस्तारको लागि प्रयोग हुँदै आएको पाइन्छ । जसको लागि एक स्वतन्त्र वेद सामवेदको निर्माण भएको छ । त्यहींबाट संगीतको सात सुर सा, रे, ग, म, प, ध, नि, सा प्रचलनमा आएको हो ।

वैदिक मन्त्रहरूको उच्चारणबाट निस्कने ध्वनिले मानव शरीर एवं मनमा सकारात्मक ऊर्जा प्रवाह गरी आत्मिक जागरण गर्ने र पर्यावरणलाई शुद्ध बनाउने विश्वास रहेको छ । जसलाई मन्त्रको ध्वन्यात्मक प्रभाव नै मान्नुपर्छ । जुन विषय पछि गएर राग चिकित्सा बन्यो र अहिले संगीत चिकित्साको नामले फैलिंदैछ ।

आयुर्वेदको चरक, सुश्रुत संहिता र अष्टाङ्ग संग्रहमा पनि संगीतको (विविध रागको) चिकित्सकीय विषयबारे सूक्ष्म चर्चा गरिएको छ । शरीर भित्र र बाहिर उत्पन्न हुने ध्वनिलाई चिन्तन गरेर नै पूर्वीय योग शास्त्रहरूमा नाद योगको परिकल्पना गरिएको छ । वैदिक शास्त्रहरूमा राग चिकित्साको रूपमा संगीतको प्रयोग सम्बन्धी चर्चा पहिलेदेखि नै हुँदै आएको छ । अहिले आएर संगीतको चिकित्सकीय प्रभावको विषयमा विश्वभरि अनुसन्धानहरू भइरहेका छन् । भारतको चेन्नाई राज्यमा त ‘राग रिसर्च सेन्टर’ नै स्थापना गरिएको छ ।

एक ठाउँको ध्वनि अर्को ठाउँमा जानु भनेको ऊर्जा स्थानान्तरण हुनु हो । मानव शरीरमा तरङ्ग स्थानान्तरण हुन प्रयोग हुने माध्यम जस्तै; हड्डी, मांसपेशी, रगत, पिसाब, फोक्सोको हावामा पनि एकप्रकारले हलचल वा सक्रियता आउँछ जसले ती माध्यमहरूमा भएको रोगकारक कमजोरी (डिफेक्ट) हटाउँछ र ध्वनिले उपचारात्मक कार्य गर्दछ ।

आधुनिक विज्ञानले ध्वनिलाई ऊर्जाको एक रूप मान्दछ । ध्वनि तरङ्ग मार्फत एक ठाउँबाट अर्को ठाउँमा प्रवाह हुन्छ । यसरी प्रवाह हुन ठोस, तरल वा ग्याँसमध्ये कुनै एक माध्यम आवश्यक हुन्छ ।

एक ठाउँको ध्वनि अर्को ठाउँमा जानु भनेको ऊर्जा स्थानान्तरण हुनु हो । मानव शरीरमा तरङ्ग स्थानान्तरण हुन प्रयोग हुने माध्यम जस्तै; हड्डी, मांसपेशी, रगत, पिसाब, फोक्सोको हावामा पनि एकप्रकारले हलचल वा सक्रियता आउँछ जसले ती माध्यमहरूमा भएको रोगकारक कमजोरी (डिफेक्ट) हटाउँछ र ध्वनिले उपचारात्मक कार्य गर्दछ ।

यसरी ‘माइण्ड बडी मेडिसिन’ को सिद्धान्त अनुसार सांगीतिक ध्वनिको शक्तिले शरीर (हाड, मांस, रगत, ग्रन्थी, स्नायु आदि) प्रभावित हुँदा मन पनि प्रभावित हुनपुग्छ। सांगीतिक ध्वनिले मन (इन्द्रिय अनुकूलता) प्रभावित हुँदा शरीर पनि प्रभावित हुन्छ । यही वैज्ञानिक सिद्धान्तमा ध्वन्यात्मक सांगीतिक रागहरूबाट शारीरिक, मानसिक एवं आध्यात्मिक स्वास्थ्यको स्थापना गर्ने गरिन्छ ।

३ डिसेम्बर २०१६ मा जर्नल अफ क्लिनिकल नर्सिङमा प्रकाशित शोध अनुसार ३३ (६० देखि ७९ उमेरका आधा महिला र आधा पुरुष) जना रोगीलाई घरमै राखेर उपचार एवं स्याहार गरिएको थियो । ११ हप्तासम्म (प्रति हप्ता दुई पटक, जम्मा २१ पटक) संगीत चिकित्सा दिई उनीहरूको गुणस्तरीय जीवनयापनमा परेको प्रभाव मूल्याङ्कन गरिएको थियो ।

संगीत चिकित्साले गुणस्तरीय जीवनको मापक शरीरको आन्तरिक क्रिया सुधारिएको, शारीरिक सक्रियता बढेको, भावनात्मक संवेगहरूमा सुधार आएको देखियो । त्यस्तै दुखाइ घटेको, सामान्य स्वास्थ्यमा सुधार भएको, आध्यात्मिक स्वास्थ्य सुधारिएको, सामाजिक क्रियाशीलता बढेको र रोगीहरूमा सकारात्मक ऊर्जा वृद्धि भएको पनि पाइएको थियो । त्यस अध्ययनले संगीत चिकित्साले रोगीको गुणस्तरीय जीवनयापन सुनिश्चित गर्ने देखाएको थियो ।

आयुर्वेदीय सिद्धान्त अनुसार मानव शरीरको घट्क तत्वहरू वात, पित्त र कफ दोषको प्रभाव हरेक चार घण्टामा परिवर्तन भइरहन्छ । शरीरमा बिहान कफ, दिउँसो पित्त र साँझ वात दोष बढ्ने हुन्छ । रातको शुरूआतमा (साँझ ६–१० बजेसम्म) कफ, मध्य रात (१०–२ बजेसम्म) मा पित्त र रातको अन्तिम प्रहर (बिहान २–६ बजेसम्म) मा वात दोष बढ्ने गर्छ ।

त्यसैगरी सांगीतिक रागहरूको गायनको पनि निश्चित समय निर्धारण गरिएको छ । स–समय गरिएको राग गायन नै सुमधुर, प्रभावी र सिद्ध हुने शास्त्रीय मान्यता छ । राग र शारीरिक दोषका बीचमा यही आधारभूत समानता छ जसले गर्दा चिकित्साका लागि राग थप सान्दर्भिक र उपयुक्त बनेको हो।

त्यस्तै शारीरिक दोषहरू ऋतु परिवर्तनसँगै घट्ने बढ्ने गर्छन् । वर्षा ऋतुमा वात, शरदमा पित्त र वसन्तमा कफ दोष प्रकुपित भएको हुन्छ । फरक फरक रागहरूको गायन ऋतु विशेष अनुसार गरिनुपर्छ भन्ने विधान भएकाले शारीरिक दोषहरूमा ऋतु अनुसार आउने असन्तुलनलाई मिलाउन पनि रागहरूको प्रयोग सार्थक बनेको हो।

सांगीतिक रागहरूको प्रयोगले रोगकारक असन्तुलित दोषहरूलाई सन्तुलित बनाई रोग लाग्न दिंदैन । दोषहरूको सम्यक् सन्तुलन कायम गरी शरीरलाई रोग लाग्नबाट बचाउँछ। अर्कोतर्फ विभिन्न खालको मानसिक संवेग जसले शरीरमाथि प्रभाव पारी दोषको असन्तुलन गराएर रोग निम्त्याउँछ । मानसिक भावहरू (रीस, द्वेष, अहंकार, घृणा, भय आदि) को सम्यक् व्यवस्थापन रागहरूले गराउँदछ र रोग लाग्नबाट बचाउँछ।

अमेरिकन साइकोलोजिकल एशोसिएसनको वेबसाइटमा एउटा तथ्य प्रकाशित गरिएको छ । डा. ड्यानियल जे लेभिटिन र डा. मोनालिसा चन्दाले विश्वका ४०० वटा अनुसन्धानहरू केलाएर हेर्दा संगीतले ‘इम्युन सिस्टम’ को सक्रियतालाई बढाउने र तनावलाई घटाउने गर्दोरहेछ भन्ने पत्तो लगाए। शारीरिक भन्दा मानसिक स्वास्थ्यका लागि संगीतको प्रयोग बढी प्रभावकारी हुने पनि देखियो।

उमेर, देश, काल एवं संस्कृति अनुसार व्यक्तिलाई मन पर्ने वा मन नपर्ने धुन फरक फरक हुन्छन् । बाल्यावस्थामा बाल गीतसंगीत, जवानलाई मायापिरतीका र बूढाबूढीलाई भजनकीर्तन मन पर्ने गर्छ । युरोप र अमेरिकामा पप वा रक एवं वेस्टर्न शास्त्रीय संगीत बढी सुनिन्छ भने नेपाल र भारतका व्यक्तिहरूलाई शास्त्रीय संगीतप्रति अनुराग छ । सबै खालका संगीतको आ–आफ्नै विशेषता भए पनि अनुसन्धानले संगीत चिकित्सामा भारतीय शास्त्रीय संगीत (राग) को प्रयोग प्रभावकारी भएको देखिएको छ।

पी टम्किन्स् र जी बर्डले आफ्नो ‘पुस्तक द सेक्रेट लाइफ अफ प्लान्टस्’ मा श्रीमती डोरोथी रिट्टालैकले प्लान्टस्मा संगीतको प्रभाव बारे गरिएको प्रयोग सम्बन्धमा विशेष चर्चा गरेका छन्।

सांगीतिक रागहरूले शरीर भित्र हुने षड्चक्र माथि प्रहार गर्छ । स्नायु–अन्तस्रावी प्रणालीलाई क्रियाशील गरेर चक्रलाई सक्रिय गराउँछ । त्यसैले शास्त्रमा हरेक चक्रको जागरणको लागि विशेष ध्वन्यात्मक बीज मन्त्र पनि तय गरिएको छ । जसको सिद्धिले उक्त चक्रको जागरण हुन्छ । फलतः व्यक्तिमा असीमित क्षमता, शान्ति, ऊर्जा एवं शक्ति प्राप्त हुन्छ।

डोरोथीले तीन सेट वनस्पति तयार गरी त्यसमा क्रमशः रक/पप संगीत, पश्चिमी शास्त्रीय संगीत र पूर्वीय शास्त्रीय संगीत सुनाइएको थियो । पप गीत सुनाइएका वनस्पतिहरू तलतिर लत्रिए, पश्चिमी शास्त्रीय संगीत सुनाइएका वनस्पतिहरू ३५ डिग्रीसम्म माथि उठे र पूर्वीय शास्त्रीय संगीत सुनाइएका वनस्पतिहरू ६० डिग्रीसम्म संगीतको स्रोततर्फ उठेको पाइएको थियो।

सांगीतिक रागहरूले शरीर भित्र हुने षड्चक्र माथि प्रहार गर्छ । स्नायु–अन्तस्रावी प्रणालीलाई क्रियाशील गरेर चक्रलाई सक्रिय गराउँछ । त्यसैले शास्त्रमा हरेक चक्रको जागरणको लागि विशेष ध्वन्यात्मक बीज मन्त्र पनि तय गरिएको छ । जसको सिद्धिले उक्त चक्रको जागरण हुन्छ । फलतः व्यक्तिमा असीमित क्षमता, शान्ति, ऊर्जा एवं शक्ति प्राप्त हुन्छ।

इन्टरनेशनल आयुर्वेदिक मेडिकल जर्नलमा सह–प्राध्यापक पल गुरु शरणद्वारा अगस्ट २०१७ मा प्रकाशित ‘डिस्क्रिप्सन अफ म्युजिकथेरापी इन आयुर्वेद’ का अनुसार रागले शरीरको व्यधिक्षमत्व बढाउँछ, शरीरको क्षय र अपव्यय रोक्छ। साथै कम आवृत्ति (लो लेवल) फ्रिक्वेन्सीको संगीतले संक्रामक जीवाणुलाई पनि मार्दछ । रागले मानसिक दोष रजस र तमसलाई पनि सत्व गुणतिर प्रवृत्त गराउन सहयोग गर्छ । रागको संख्या र नाम संगीतज्ञ अनुसार फरक परेको देखिन्छ । यही कारण विभिन्न ठाउँमा अलगअलग नाम उल्लेख भएका पाइन्छन्।

याे पनि हेर्नुहाेस्– स्वाद तीतो, स्वास्थ्यलाई मीठो

याे पनि हेर्नुहाेस्– स्वास्थ्यका लागि लाभदायक सातु

याे पनि हेर्नुहाेस्– अपहेलित गुणी लट्टे, झुसे सिस्नो र गुमनाम करी पत्ता

याे पनि हेर्नुहाेस्– बहुगुणी गाँजा

याे पनि हेर्नुहाेस्– भाङ र दिउल खाऔं, स्वस्थ जीवन जिऔं

प्रतिकृया दिनुहोस