आजदेखि संसदमा मन्त्रालयगत छलफल, विपक्षीहरुको रु.१ र १०० खर्च कटौती प्रस्ताव !
प्रतिनिधिसभाको बैठकमा आजदेखि विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ हुँदैछ । विनियोजन विधेयक, २०७७ को विभिन्न शीर्षकहरुमाथि प्रारम्भ हुने छलफल अन्तर्गत ७ वटा मन्त्रालयको विभिन्न शीर्षकहरुमाथि छलफल हुनेछ।
संसद सचिवालयले प्रकाशित गरेको 'संभावित' कार्यसूची अनुसार आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय र युवा तथा खेलकूद मन्त्रालयको बजेटमाथि छलफल हुनेछ।
प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बोलाइएको छ।
रु.१ र १०० खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने !
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायत विपक्षी दलहरुले पनि विभिन्न मन्त्रालयहरुको बजेटमा रु.१ देखि १०० सम्म घटाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने तयारी गरेका छन् । कांग्रेसका छायाँ मन्त्रीहरुले आफूले जिम्मेवारी सम्हालेका मन्त्रालयहरुमा एकदेखि एकसय रुपैयाँ खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन्।
कांग्रेसकी पुष्पा भुसाल (गौतम) ले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई रु.१ कायम गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछिन् भने उमाकान्त चौधरीले शहरी विकास मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई रु.१ कायम गरियोस् भन्ने प्रस्ताव गर्नेछन्।
कांग्रेसकै सञ्जय कुमार गौतमले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको छायाँ मन्त्रीको जिम्मेवारी सम्हालेका छन् । त्यसैले यही मन्त्रालयको खर्च रकमलाई घटाई रु.१ कायम गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने उनले बताए । सांसद गौतमले भने, ‘व्यक्तिगत रुपमा पनि प्रस्ताव दर्ता गर्न पाइन्छ तर यसपटक हामीले छायाँ मन्त्रालय सम्हालेकै मन्त्रालयको बजेटमा प्रस्ताव प्रस्तुत गर्न लागेका हौं । यो संसदीय परम्परा पनि हो ।’
त्यस्तै कांग्रेसकै लक्ष्मी परियारले भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय शीर्षकको खर्च रकममा रु.१०० घटाइयोस्” भन्ने प्रस्ताव गर्दैछिन् भने सुजाता परियारले खानेपानी मन्त्रालय शीर्षकको खर्च रकममा रु.१०० तथा सांसद रंगमती शाहीले युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्चमा रु.१०० घटाइयोस् भन्ने प्रस्ताव गर्दैछन् ।
राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले आज छलफल हुने तय भएको सबै मन्त्रालयको खर्च रकममा रु.१०० घटाइयोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछिन्।
नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले भने ती सातवटै मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित खर्च रकम घटाइयोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा लेखिएको छ।
नेकपाका एक सांसदले भने यो संसदीय परम्परा नै बसेको भन्दै बिरालो बाँधेर श्राद्ध गर्ने भन्ने उखान चरितार्थ हुने बताए । उनले भने, "यो अभ्यास सँधैको हो तर यस्तो महामारीको बेला पनि सरकारले ल्याएको बजेट सर्वसम्मत पारित गर्न नदिने परम्परा धानेको हो, बहुमतले पारित हुन्छ।"
सरकारले ल्याएको बजेटमा छुट्टयाइएको खर्चमा विपक्षीले कटौती गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे पनि कहिल्यै कटौती भने कहिल्यै पनि नहुने उनको भनाइ छ । संसद सदस्य संख्याको सामान्य बहुमतले पनि बजेट पारित हुने खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेले बोल्न पाउने बाहेक अर्थ भने देखिंदैन।