नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्यले गरे अर्को संविधान संशाेधन विधेयक दर्ता
नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभा सदस्य प्रकाश पन्थले संघीय संसद सचिवालयमा संविधान संशाेधन विधेयक दर्ता गराएका छन्।
पन्थले २२ जेठमा नेपालको संविधानको धारा ११० ले दिएको अधिकार र राष्ट्रियसभा नियमावली, २०७५ को नियम ९४ बमोजिम सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न संघीय संसद सचिवालयमा गैरसरकारी विधेयक दर्ता गराएका हुन्।
सामाजिक सुरक्षा ऐन, २०७५ बमोजिम विभिन्न वर्गहरूले सामाजिक सुरक्षा भत्ता पाइरहेको वर्तमान अवस्थामा साठी वर्ष मुनिका एकल महिला (विधवा) र अतिअशक्त अपाङ्गता भएका व्यक्तिले भने नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट उक्त सामाजिक सुरक्षा भत्ता विगतका वर्षहरूदेखि नै प्राप्त गरिरहेको सन्दर्भमा ऐनमा नै सो सम्बन्धी व्यवस्था गर्नु आवश्यक भएकाले सामाजिक सुरक्षा ऐन, २०७५ मा पहिलो संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद समक्ष प्रस्तुत गर्नु परेको पन्थले बताएका छन्।
समाजिक सुरक्षा ऐन संविधानमा व्यवस्था भएको मौलिक हक कार्यान्वयन गर्न बनेको महत्वपूर्ण मौलिक हकको ऐन समेत हो।
यसअघि सरकारले नेपालको नक्शा अनुसार निशान छापमा रहेको नक्शा सच्याउन संविधान संशोधन विधेयक दर्ता गरेपछि आइतबार जनता समाजवादी पार्टी र मंगलबार नेपाली कांग्रेसका ८ जना सांसदले पनि विधेयक दर्ता गराएका थिए । त्यसपछि जनमोर्चाले संविधानमा रहेको संघीयताको व्यवस्था हटाउनुपर्ने भन्दै मुलुकको विकास नहुनुको प्रमुख कारक संघीयता रहेको दाबीसहित बुधबार अर्को विधेयक दर्ता गराएको थियो।
यो संसदमा दर्ता भएको पाँचौ विधेयक हो।