समाचार विहीबार, जेठ २२, २०७७

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र सदस्य नारायणकाजी श्रेष्ठले एक वर्षको बैठक भत्ता नलिने

हिमालखबर

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र सदस्य नारायणकाजी श्रेष्ठले एक वर्षको बैठक भत्ता नलिने

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र राष्ट्रियसभा सदस्य तथा सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले एकवर्षको बैठक भत्ता नलिने घोषणा गरेका छन्।

संसद सचिवालयलाई पत्र लेखेर अध्यक्ष तिमिल्सिनाले २२ जेठदेखि २०७७ साल चैत मसान्तसम्म राष्ट्रियसभाको बैठक भत्ता तथा मुलुकभित्र विभिन्न ठाउँमा भ्रमण गर्दा पाउने भत्ता नलिने बताएका छन्, श्रेष्ठले १६ जेठमा लिखित जानकारी दिएका हुन् ।

बैठक भत्ता नलिने जानकारी संसद सचिवालयको आर्थिक प्रशासनलाई लिखित जानकारी गराउँदै सो बापतको रकम नेपाल सरकारको राजस्व खातामा जम्मा गर्दिन अध्यक्ष तिमिल्सनाले भनेका छन्।

राष्ट्रियसभाकै सदस्य नारायणकाजी श्रेष्ठले पनि राष्ट्रियसभाको बैठक र समितिको बैठकको भत्ता राज्यकोषमा जम्मा गरिदिन भनेका हुन् । श्रेष्ठले यसअघि नै आफ्नो राष्ट्रियसभा सदस्यबापतको एक वर्षको पारिश्रमिक राज्यकोषमा दिइने घोषणा गरिसकेका छन्।

मुलुक कोभिड–१९ विरुद्ध लडिरहेकाले सार्वजनिक खर्चमा मितव्ययिता अपनाउन आफ्नो ठाउँबाट सहयोग गरेको उनीहरूले भनेका छन्।

अध्यक्ष तिमिल्सिना र श्रेष्ठले संसद सचिवालयको आर्थिक प्रशासन शाखालाई एक वर्षसम्म भत्ता नलिने लिखित जानकारी गराएको संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए।

संघीय संसद पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन अनुसार राष्ट्रियसभाका अध्यक्षको मासिक पारिश्रमिक रु. ६७,३२० छ भने सदस्यको पारिश्रमिक मासिक ५५,२३० हुन्छ भने बैठक भत्ता एकहजार हुने व्यवस्था छ । यो भत्ता बैठक बसेको दिनमा पाउने हो।

प्रतिकृया दिनुहोस