मोटरसाइकलको ट्याङ्कीमा लुकाएर २२ लाख तस्करी
सशस्त्र प्रहरी बलको पर्सास्थित बन्जरामा रहेको बोर्डर आउट पोस्ट (बीओपी) ले २२ लाख ४८ हजार सहित एक जनालाई पक्राउ गरेको छ।
पर्साको बहुदरमाई नगरपालिका ५ भमराटार घर भएका प्रकाश साहबाट सो रकम बरामद भएको बीओपीका निरीक्षक हरि पराजुलीले जानकारी दिए। उनका अनुसार, साह चढेको ना ४३ प २८०२ नम्बरको मोटरसाइकल जाँच गर्दा इन्धन ट्याङ्की मुनि लुकाएको अवस्थामा सो रकम बरामद भएको हो।
सशस्त्रले बरामद गरेको रकमसहित साहलाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको छ। सो रकम हुण्डीको हुन सक्ने आशंका गरिएको छ।