समाचार विहीबार, जेठ २२, २०७७

नेपालमा रहेका भारतीय पनि फर्किंदै, सीमा क्षेत्रमा बढ्यो भीड

मुकेश पोखरेल

नेपालमा रहेका भारतीय पनि फर्किंदै, सीमा क्षेत्रमा बढ्यो भीड
रुपन्देहीको बेलहिया नाकामा स्वदेश फर्खने पखाइमा रहेका भारतीय नागरिक ।

भारतमा रेल सेवा सञ्चालन भएपछि नेपालमा भएका भारतीय पनि धमाधम स्वदेशमा फर्किरहेका छन् । दैनिक हजारौं भारतीय स्वदेश फर्कन थालेपछि सीमाक्षेत्रमा भीड बढेको छ ।

प्रमुख सीमावर्ती नाकाबाट भारततर्फ जानेहरु बढेको सीमास्थित प्रहरी कार्यालयले जनाएका छन् । यसअघि भारतबाट नेपाल फर्किनेहरुका कारण सीमानाकामा भीड बढेको थियो ।

बन्दाबन्दी शुरु भएदेखि यता बाँकेको जमुनाह नाकाबाट सबैभन्दा बढी भारतीय उता गएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उक्त नाका हुँदै करीब २३ हजार भारतीय स्वदेश फिरेका छन् ।

त्यसैगरी कैलालीको गौरीफण्टा नाकाबाट चार हजार ६०४ भारतीय उता गएका छन् । रुपन्देहीको बेलहिया नाका हुँदै १२ वैशाख यता ११ हजार १४७ जना स्वदेश फर्किए।

पर्साको वीरगञ्ज हुँदै एक हजार ५०२ जना स्वदेश फर्किएका छन् । नेपालमा बन्दाबन्दी सुरु भएपछि यो नाका हुँदै भारततर्फ जानेको संख्या १५ हजारभन्दा बढी छ।

रुपन्देहीको बेलहिया नाका

लामो समयदेखिको बन्दाबन्दीले आर्थिक गतिविधि ठप्प भएपछि नेपालमा काम गरिरहेका भारतीय स्वदेश फर्किरहेका हुन् । सशस्त्र प्रहरी गण रुपन्देहीका प्रमुख तेज पोखरेलका अनुसार भारतीय पक्षले दैनिक एक हजार देखि एक हजार ५०० का दरले आफ्ना नागरिक फिर्ता लगेको छ।

भारततर्फ जान कुरेर बसेका सयौं नागरिकहरु अहिले पनि सीमा क्षेत्रमा छन् । प्रायः भारतीयहरु इँटा, टायल र मार्वल लगाउने, घर निर्माण, इँटाभट्टा तथा उद्योगहरुमा कार्यरत मजदूर हुन्।

मजदूर अभाव हुन सक्ने
ठूलो संख्यामा रहेका भारतीयहरु फर्किएपछि नेपालका उद्योग तथा निर्माण क्षेत्रमा मजदूर अभाव हुन सक्ने यहाँका उद्योगीहरु बताउँछन् । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रविसिंहका अनुसार नेपालको निर्माण क्षेत्रमा १५ लाख भारतीय कामदार छन्।

उद्योग, गार्मेन्ट र घर निर्माण क्षेत्रमा भारतीय कामदारकै बाहुल्य छ । रुपन्देहीका उद्योगी नरिश्वर पौडेल भारतीय मजदूर नहुँदा अहिले उद्योग सञ्चालन गर्न कामदार अभाव भएको बताउँछन्।

“भारतीयहरु यहीं बसेर काम गर्दथे, त्यसैले पनि मजदूर अभावको महशुस हुन पाउँदैनथ्यो,” पौडेल भन्छन् “नेपालको टाढाका कामदार पनि घर गएका छन् । नजिक घर भएकाहरुलाई गाउँबाट आउ जाउ गर्न रोक छ।”

भारतीय मजदूरहरुले अधिकारको विषयलाई लिएर आन्दोलन पनि नगर्ने र ट्रेड यूनियनका नाममा हुने झन्झट व्यहोर्नु नपर्ने भएकाले नेपाली उद्योगीहरुको रोजाइमा भारतीयहरु पर्दछन्।

प्रतिकृया दिनुहोस