अमेरिकाले चिनियाँ जहाज प्रवेशमा रोक लगायो
अमेरिकाले १६ जूनदेखि लागू हुने गरेर चिनियाँ जहाजलाई अमेरिका उडानमा प्रतिबन्ध लगाएको छ । यसअघि चीनले अमेरिकी विमानहरुलाई प्रवेशको अनुमति रद्द गरेको थियो।
महामारीका बीच पनि चीनका चार विमान सेवा कम्पनीले अमेरिका उडान जारी राखेका थिए । अमेरिकाको यातायात विभागले यो कदम चीनले अमेरिकाकाे उडान प्रवेश निषेध गरेको विरोधमा चालिएको जनाएको छ।
तर, गएको मार्चमा चीनले अमेरिकी विमानलाई प्रवेश अनुमति रोक्ने निर्णय गर्नुअघि नै फेब्रुअरीमा अमेरिकाले चीन उडान रोकिसकेको थियो । चीनमा महामारी फैलन थालेपछि अमेरिकाले उडान रोकेको हो । चीनमा सबैभन्दा पहिला उडान रोक्ने देशमध्ये अमेरिका पनि थियो।
अमेरिकाले यो मुद्दामा चीनसँग वार्ता जारी हुने पनि जनाएको छ । तर, अमेरिकाको पछिल्लो कदमलाई दुई देशबीच बढेको तनावको संकेत मानिएको बीबीसी हिन्दीले जनाएको छ।
अमेरिकामा कोरोनाभाइरस संक्रमण नघटेका कारण विमान प्रवेशमा रोक लगाएको चीनको भनाइ छ । चीनमा भने संक्रमण नियन्त्रणमा आइसकेको छ । पछिल्लो दिनमा कोरोनाभाइरस महामारी र हङकङ मुद्दामा दुई देशबीच तनाव बढिरहेको छ।
अमेरिकी यातायात विभागको आदेशले चीनका चार एयरलाइन्स एयर चाइना, चाइना इस्टर्न एयरलाइन्स, हैनान एयरलाइन्स र चाइना साउदन एयरलाइन्सले अब अमेरिका प्रवेश पाउने छैनन् । महामारीमा पनि उडान जारी राखेका यी विमान सेवा कम्पनीमा यात्रु भने न्यून थिए।
अमेरिकाको यो निर्णयबारे अमेरिकास्थित चिनियाँ दूतावासले कुनै प्रतिक्रिया जनाइसकेको छैन।