पर्सामा व्यवसायलाई वर्गीकरण गरी बिहीबारदेखि सञ्चालन गर्न दिइने
पर्सा जिल्ला प्रशासनले बिहीबारदेखि व्यवसायलाई वर्गीकरण गरी सञ्चालन गर्न पाउने नियम लागू गर्ने भएको छ । बुधबार बसेको जिल्ला संकट व्यावस्थापन केन्द्रको बैठकले लामो समयदेखिको बन्दाबन्दीका कारण समग्र अर्थतन्त्रमा परेको असरलाई मध्यनजर राख्दै बिहीबारबाट व्यवसाय सञ्चालनको अनुमति दिइएको जनाएको छ।
व्यवसायहरूलाई नियमित र २४ घण्टा खुला रहने, जोर र बिजोर गतेमा खुल्ने र पूर्ण रुपमा बन्द गर्ने गरी चारवटामा वर्गीकरण गरिएको छ।
औषधि पसललाई २४ घण्टा, ब्यांक तथा वित्तीय संस्थालाई नियमित, अत्यावश्यक तथा खाद्यन्न र फलफूल पसल बिहान ५ देखि ९ बजेसम्म खुल्न दिने भएको छ।
त्यसैगरी कपडा, कस्मेटिक, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स लगायतका पसल बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म जोर गतेका दिन सञ्चालन गर्ने अनुमति दिएको छ।
साथै हार्डवेयर, साइकल, मोटर तथा मोटर पार्टस्, अटोवर्क्स , भाँडाबर्तन, सुनचाँदी, फर्निचर तथा अन्य पसल बिजोर गतेका दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन गर्न पाउने निर्णय पर्सा जिल्ला प्रशासनले गरेको छ।
यससँगै सिनेमा हल, जिमखाना, होटल, रेष्टुरेन्ट, चियापसल, मदिराजन्य पसल, धार्मिक स्थलका साथै मानिसहरूको भिडभाड हुने र सार्वजनिक तथा भाडाका सबै सवारी साधन पूर्ण रुपमा बन्द हुनेछन् ।