रौतहटमा स्वास्थ्यकर्मीमाथि फेरि आक्रमण, दुईजना घाइते
रौतहटमा स्वास्थ्यकर्मीमाथि फेरि आक्रमण भएको छ । रौतहटको राजपुर नगरपालिकाको क्वारेन्टिनमा स्थानीय दुई स्वास्थ्यकर्मीमाथि आक्रमण भएको हो।
क्वारेन्टिनमा रहेका शंकास्पद बिरामीको आरडीटी परीक्षणको नतिजा पोजेटिभ आएपछि क्वारेन्टिनमा रहेकाहरूले विवाद गर्दै आक्रमण गरेका हुन् । आक्रमणबाट स्वास्थ्यकर्मीद्वय खुर्सिद आलम र रामनरेश साह घाइते भएका छन् । साह नगरपालिकाको सहायक स्वास्थ्य संयोजकसमेत हुन् । क्वारेन्टिनमा स्वास्थ्यकर्मीमाथि दुःखद घटना भएको मेयर सकिल अहमदले स्वीकार गरेका छन्।
आक्रमणमा परी घाइते भएका दुवै जनाको उपचार स्थानीय राजपुर प्राथमिक स्वास्थ्य केन्द्रमा भइरहेको नगर स्वास्थ्य संयोजक रवीन्द्रकुमार झाले जानकारी गराएका छन्।
आक्रमणमा तीनजना स्वास्थ्यकर्मीको मोटरसाइकलमा पनि क्षति पुगेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
यसअघि रौतहटको ईशनाथ नगरपालिका र गढीमाई नगरपालिकामा पनि स्वास्थ्यकर्मीमाथि आक्रमण भएको थियो । जिल्लाका विभिन्न नगरपालिकामा क्वारेन्टिनमा बस्नेहरूको संख्या बढ्दै गएपछि व्यवस्थापन जटिल बन्दै गएको छ।
सञ्जय मित्र, रौतहट