कर बुझाउने समय १५ दिनलाई थपियो
बन्दाबन्दीको बीचमा कर तिर्न ताकेता गरेको भन्दै उद्योगी व्यवसायीको विरोधपछि सरकारले कर बुझाउने समय १५ दिनलाई थप गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार कर विवरण तथा कर बुझाउने म्याद थप सम्बन्धी सूचना जारी गरेर २५ जेठभित्र तिर्नुपर्ने करलाई ७ असारसम्म र जेठ मसान्तभित्र तिर्नुपर्ने करलाई १५ असारसम्मको समय सीमा दिएको छ।
नयाँ सूचना अनुसार अब २५ जेठभित्रै तिर्नुपर्ने २०७६ को फागुन–चैत र २०७७ वैशाख महीनासम्को कर विवरण, माघ–फागुन र चैत–वैशाखको द्विमासिक र दोस्रो चौमासिकको अवधिको मूल्य अभिवृद्धि कर तथा कर दाखिला गर्ने समय ७ असारसम्म तिर्दा हुने भएको छ।
कर फिर्ताको निवेदन दिने पाउने अवधि बन्दाबन्दीकै वेलामा सकिए पनि ७ असारसम्मकै समय पाइने भएको छ । फागुन, चैत र वैशाखको अन्तःशुल्क, फागुनदेखि वैशाखसम्मको अग्रीम करकट्टी र अग्रीम कर असुलीको विवरण र ती विवरण बमोजिम कर दाखिला गर्ने, टेलिफोन स्वामित्व शुल्क र दूरसञ्चार सेवा दस्तुर बुझाउने समय पनि ७ असारसम्मलाई नै तोकिएको छ।
यस्तै २०७६ चैत महीनामा बुझाउनुपर्ने आर्थिक वर्ष २०७६/७७ को संशाेधित अनुमानित कर विवरण र दोस्रो किस्ता वापतको रकम दाखिला गर्ने म्याद भने १५ असारसम्मलाई दिइएको आन्तरिक राजस्व विभागले सार्वजनिक गरेको सूचनामा उल्लेख छ।
सरकारले बन्दाबन्दी जारी रहँदै २५ जेठभित्र कर तिर्न भन्दै २० जेठमा सूचना जारी गरेपछि उद्योगी व्यवसायीले चर्को विरोध गरेका थिए । व्यवसायीको विरोध तथा नेपाल उद्योग वाणिज्य महासंघले बुधबार अर्थमन्त्रालयमा गरेको सरकारी अधिकारीसँगको छलफलपछि सरकारले कर तिर्ने समय १५ दिनलाई थप गरेको हो।