अस्पताल भरिएपछि विद्यालय र क्याम्पसमा आइसोलेसन
सरकारी तथा निजी अस्पतालमा रहेका आइसोलेसन कक्ष भरिए पछि बाग्लुङमा विद्यालयमा आइसोलेसन बनाउने विकल्प खोज्न थालिएको छ। यसअघि निर्माण भएका १६ शय्याका आइसोलेसन कक्ष भरिएपछि विकल्पको खोजी हुन थालेको हो।
भारतबाट आएकामा धमाधम कोरोना सङ्क्रमण देखिन थालेपछि थप आइसोलेसन वार्ड बनाउन जिल्ला कमाण्ड पोष्टसहित सरोकारवाला जुटेको जिल्ला कमाण्ड पोष्ट बागलुङका संयोजक गौलोचन सैँजूले बताए। सदरमुकामका विद्यालय, क्याम्पस र सदरमुकाम आसपासका सम्भावित स्थानको खोजी थालिएको हो।
“हामी तयार रहनुपर्छ भन्ने हो सम्भावित ठाउँका विषयमा छलफल चलेको छ” सैँजूले भने, “सदरमुकाम बाहिरका स्थानका विषयमा समेत सम्बन्धित स्थानीय सरकारसँग छलफल थालेका छौँ।”
सदरमुकाममा रहेको धवलागिरि अस्पातलमा १२ शय्या, सदरमुकाममै रहेका निलगिरि अस्पताल, सफल पोली क्लिनिक र गलकोटमा रहेको आरोग्य अस्पतालमा गरी चार शय्याको आइसोलेसन तयार गरिएको थियो। अहिले धवलागिरि अस्पतालमा एक शंकास्पदसहित सात जनाको आइसोलेसनमै उपचार हुँदैछ भने अरु तयार रहेका आइसोलेसन बाँकी छन्।
जिल्ला कमाण्ड पोष्ट र बागलुङ नगरपालिकाले धवलागिरि बहुमुखी क्याम्पसको भवन मंगलबार अवलोकन गरेका छन्। अस्पताल नजिक रहेको भवन उपयुक्त रहेकाले थप ५० शय्याको आइसोलेसन गर्ने गरी तयारी थालिएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए।
“क्वारेन्टिनमा रहेका धेरै जनाको परीक्षणका लागि स्वाब पठाइएको छ, अहिलेसम्मको अवस्था हेर्दा भारतबाट आएकामा नतिजा पोजेटिभ आइरहेका छन्” पौडेलले भने।