‘कोरोना रोकथाम तथा उपचार कोष’ मा दुई अर्ब ३१ करोड
सरकारले स्थापना गरेको ‘कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा हालसम्म २ अर्ब ३१ करोडभन्दा बढी रकम संकलन भएको छ ।
कोषमा हिजो (मंगलबार) सम्म रु. २ अर्ब ३१ करोड ५५ लाख ८४ हजार ४२० जम्मा भइसकेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
सरकारले ९ चैतमा कोरोना रोकथाम, नियन्त्रणका लागि रु. ५० करोड जम्मा गरेर कोष स्थापना गर्ने निर्णय गरेको थियो।
राष्ट्रिय वाणिज्य ब्यांकको खाता नम्बर १९६०००००११०१ मा रकम जम्मा गरी सो कोषमा सहयोग गर्न सरकारले सबैलाई आह्वान पनि गर्दै आएको छ।
कोषमा रकम जम्मा गर्नेहरुको विवरण र रकम प्रधानमन्त्री कार्यालयले दैनिक अद्यावधिक गर्दै सहयोग गर्नेको नाम तथा कोषमा प्राप्त रकम प्रधानमन्त्री कार्यालयको वेबसाइटमा राख्ने गरेको छ।