बागलुङको बडिगाड गाउँपालिकाकी ११ दिनकी सुत्केरी हेलिकप्टरबाट उद्धार
बागलुङको बडिगाड गाउँपालिका वडा नं. १ मा ११ दिने सुत्केरीको हेलिकप्टरबाट उद्धार गरी पोखराको गण्डकी अस्पतालमा पठाइएको छ।
पोष्ट पार्टम इक्ल्यमसियाको कारण बेहोस भएकी २२ वर्षीया सरस्वती पोखरेललाई घरबाटै उद्धार गरी पोखरा पठाइएकोे बडिगाड गाउँपालिकाले जनाएको छ।
पोखरेल ११ दिन अगाडि स्थानीय वर्थिङ सेन्टरमा सुत्केरी भएकी थिइन्। बच्चाको अवस्था सामान्य रहेको वडा नं. १ का अध्यक्ष बोम बहादुर थापाले जानकारी दिए।
राष्ट्रपति मातृ सुरक्षा कार्यक्रम अन्तरगत जिल्ला प्रशासन कार्यालय बागलुङ, सामाजिक विकास मन्त्रालय पोखरा तथा गृह मन्त्रालय काठमाडौं संगको समन्वयमा उद्धार गरिएको बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले जानकारी दिए।
पहाडि जिल्ला र उपयुक्त स्वास्थ्य सेवाको अभावको कारण जटिल मातृ स्वास्थ्यसम्बन्धी समस्या भएका महिलालाई हेलिकप्टरबाट उद्धार गरि अन्यत्र लैजानुपर्ने वाध्यता छ।