थप समाचार मंगलबार, जेठ २०, २०७७

रुकुम पश्चिम प्रकरणः मानवअधिकार आयोगको अध्ययन शुरु

रासस

रुकुम पश्चिम प्रकरणः मानवअधिकार आयोगको अध्ययन शुरु
null

पाँच जनाको ज्यान जाने गरी पश्चिम रुकुमको सोतीमा भएको घटनाको स्थलगत अध्ययनका लागि राष्ट्रिय मानवअधिकार आयोगको टोली जाजरकोट पुगेर छलफल थालेको छ।

राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जका उपनिर्देशक चन्द्रकान्त चापागाईंको नेतृत्वमा आएको टोलीले घटनाका सम्बन्धमा स्थानीय प्रशासन, प्रहरी, पीडित परिवार र सरोकार पक्षसँग भेटघाट गरेको छ। टोलीले घटनामा परी ज्यान गुमाएका नवराज विकका आमाबुवा, सञ्जीव विकका परिवार र गणेश बुढाका परिवारलाई भेटेर जानकारी लिएको हो।

पीडित परिवारले आयोगसमक्ष घटनाको निष्पक्ष अनुसन्धान र छानबिन हुनुपर्ने, घटनालाई तोडमोड गरी अपराधीलाई उम्काउन नहुने, सुरक्षाको ग्यारेन्टी गर्नुपर्नेलगायत माग राखेका छन्।

“दलित भएकै कारण मेरो छोराको हत्या गरिएको हो” नवराजका बुवा मुनलाल विकले भने, “हत्यारालाई कारवाही भएको देख्न पाऊँ, घटनाको सत्यतथ्य छानबिन होस्, अपराधी उम्किन नपाऊन्।”

स्थलगत अध्ययन टोलीका संयोजक चापागाईंले पीडित परिवारलाई घटनाको सत्यतथ्य छानबिन र अनुसन्धानका लागि आयोगले विशेष निगरानी र पहल गरिरहेको जानकारी दिए। उनले न्याय पाउनेमा पीडित परिवारलाई आश्वस्त पार्दै भने, “हामीले घटनापछि हरेक घटनाक्रमलाई सूक्ष्म ढङ्गले नियालिरहेका छाैं। यसअघि नै घटनाको सत्यतथ्य छानबिनका लागि सरकारलाई निर्देशनसमेत दिइसकेका छौँ ।”

प्रतिकृया दिनुहोस