अमेरिकामा प्रदर्शनको समाचार संकलन गरिरहेका पत्रकारमाथि प्रहरीबाटै आक्रमण
अमेरिकामा भइरहेको जातीय विभेदविरुद्धको प्रदर्शनको समाचार संकलन गरिरहेका दर्जनभन्दा बढी पत्रकारलाई त्यहाँको प्रहरीले अश्रु ग्यास, रबरको गाली र खुर्सानीको धूलो हानेको छ । स्पष्ट देखिने गरी परिचयपत्र बोकेका पत्रकारमाथि आक्रमण भएको हो ।
मिनेसोटामा शनिबार राति रोयटर्सको टेलिभिजन प्रशारणका दुई सदस्यलाई रबरका गोली हानिएको थियो । त्यहाँ प्रहरीले कफ्र्यु तोडिरहेका प्रदर्शनकारीलाई तितरबितर पारेको थियो ।
क्यामरापर्सन जुलियो–सिजर चाभेजले भने, “मैले भिडियो खिचिरहेको वेला एक जना प्रहरी अधिकृतले मतिर सीधै रबरको गोली भएको बन्दुक ताके ।” यो भिडियो मिनेसोटाको प्रहरी मिनेपोलिसलाई दिइए पनि कुनै प्रतिक्रिया जनाएको छैन ।
उता वासिङ्टन डीसीमा ह्वाइट हाउस नजिक एक दंगा प्रहरीले आफूले बोकेको ढालले बीबीसीका क्यामरापर्सन तथा अमेरिका ब्यूरो प्रमुख पल डानाहारमाथि प्रहार गरेका थिए । डानाहारले भने, “स्पष्टरुपमा मिडियाको परिचयपत्र देखाएको थिएँ, तर कफ्र्यु लगाउनुअघि नै उनीहरुले मिडियामाथि आक्रमण गरे ।”
त्यही दिन क्यालिफोर्नियाको लङ बिचमा पनि एक प्रहरीले रेडियो पत्रकार एडोल्फो गुजम्यान–लोपेजको घाँटीमा रबरको गोली हानेका थिए । उक्त शरहका प्रहरी प्रमुखले सोमबार पत्रकारहरुलाई उक्त घटनाबारे अनुसन्धान गर्ने बताएका थिए ।
जर्मनीको रेडियो डुचे वेलेका संवाददातालाई पनि प्रहरीले आक्रमण गरेको थियो । जबकि उनले स्पष्ट देखिन गरी ‘प्रेस’ लेखेको पोशाक लगाएको भिडियोमा देखिन्छ । डुचे वेलेका संवाददाता भन्छन्, “प्रहरीले अहिले एकदमै तनावमा छन्, तर उनीहरुले हामीलाई हाम्रो काम गर्न दिनुपर्छ ।”
गत शुक्रबार जर्ज फ्लोएडको हत्याको विरोधमा भएको प्रदर्शनको प्रत्यक्ष प्रसारण गरिरहेका सीएनएनका पत्रकारको समूहलाई नै गिरफ्तार गरेर प्रहरीको मिडियामाथिको आक्रमण सुरु भएको थियो । त्यसपछि पत्रकारमाथि गरिएका दर्जनौँ आक्रमण सामाजिक सञ्जालमा आएका छन् ।
यूएस प्रेस फ्रिडम ट्रयाकर नामको एउटा गैर नाफमूलक संस्थाले विगत तीन दिनमा त्यहाँ १०० भन्दा बढी प्रेसको स्वतन्त्रता हनन सम्बन्धि घटना भएका जनाएको छ । पत्रकारमाथि प्रहरीसँगै प्रदर्शनकारीबाट पनि आक्रमण भएको छ । शुक्रबार राति पनि फक्स समाचारको समूहमाथि मास्क लगाएका प्रदर्शनकारीको भीडले लखेटी लखेटी पिटेको थियो ।
न्यूयोर्कस्थित संस्था द कमिटी टु प्रोटेक्ट जर्नालिष्टले पत्रकारमाथि कुनै पनि प्रकारको आक्रमण र डरधम्की अस्वीकार्य रहेको बताएको छ ।
-बीबीसीबाट