बजेट भाषणमा खर्च कटौती गरेको भनिएकै यी शीर्षकमा झन् बढ्यो रकम
१५ जेठमा अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै राजस्व संकलनमा आउने संकुचन र सार्वजनिक खर्चमा पर्ने चापलाई ध्यान दिएर प्रशासनिक खर्चमा मितव्ययिता अपनाइने घोषणा गरे।
बजेट भाषणमा अर्थमन्त्रीले कार्यालय सञ्चालन, इन्धन, मर्मत, आन्तरिक र वैदेशिक भ्रमण, गोष्ठी, सेमिनार, परामर्श, सहायता, भैपरी खर्च, फर्निचर, सवारी साधन खरीद र मर्मत खर्चमा उल्लेख्य कटौती गरेको उल्लेख गरे। सांसदहरुले अर्थमन्त्रीको प्रस्तावलाई टेबुल बजाएर स्वागत गरे।
तर, अर्थमन्त्रीले बजेट भाषणमा यी शीर्षकका खर्च घटाएको भने पनि कतिपय शीर्षकमा भने बजेट थप बढेको देखिएको छ। जस्तै, कर्मचारीले आन्तरिक र वैदेशिक भ्रमण गर्दा गर्ने खर्चका लागि चालु आर्थिक वर्षमा रु. १ अर्ब ५८ करोड छुट्याइएकोमा आगामी आर्थिक वर्षमा त्यसलाई बढाएर रु. १ अर्ब ६६ करोड पुर्याइएको छ।
अर्थमन्त्रीले मितव्ययितालाई ध्यान दिंदै फर्निचर र फिक्चर्सको खर्च कटौती गरिएको घोषणा गरे पनि बजेटमा रकम विनियोजन भने बढेको छ।
कोरोनाभाइरस महामारीका कारण आन्तरिक र बाह्य आवागमन कहिले सामान्य अवस्थामा फर्किने हो भन्ने अनिश्चय कायम रहे पनि कर्मचारीको भ्रमणका लागि भने खर्च बढाइएको छ। त्यस्तै, कर्मचारीले पाउने वैदेशिक भत्ता पनि चालु आर्थिक वर्षमा रु. ७५ करोड ५५ लाख विनियोजन गरिएकोमा आगामी वर्षमा त्यसलाई १० प्रतिशतले बढाएर रु. ८२ करोड ८९ लाख पुर्याइएको छ।
यो पनि पढ्नुहोस्- आन्तरिक ऋणको प्रस्तावले ब्याङ्क ब्याजदरमा असर पर्ला ?
अर्थमन्त्रीले मितव्ययितालाई ध्यान दिंदै फर्निचर र फिक्चर्सको खर्च कटौती गरिएको घोषणा गरे पनि बजेटमा रकम विनियोजन भने बढेको छ। फर्निचर र फिक्चर्समा खर्च गर्न चालु आर्थिक वर्षमा रु. १ अर्ब ३० करोड छुट्याएकोमा आगामी आर्थिक वर्षका लागि रु. १ अर्ब ३७ करोड पुर्याइएको छ।
डा. डिल्लीराज खनाल संयोजकत्वको सार्वजनिक खर्च पुनरावलोकन आयोगले फर्निचर र फिक्चर्समा जथाभावी खर्च भइरहेको भन्दै यसको नियन्त्रणका लागि सरकारलाई सुझाव दिएको थियो। राष्ट्रपति कार्यालयले रु. १ करोडको गलैंचा खरीद गर्न लागेको विषय पनि अहिले विवादमा परेको छ। तर, सरकारले आगामी वर्षका लागि पनि फर्निचर र फिक्चर्समा रकम विनियोजन बढाएको छ।
त्यस्तै, कार्यक्रम शीर्षकमा बजेट विनियोजन आगामी आर्थिक वर्षमा १८ प्रतिशत बढेको छ। चालु आर्थिक वर्षमा कार्यक्रम गर्न रु. ३४ अर्ब ४० करोड विनियोजन गरिएकोमा आगामी वर्ष रु. ४० अर्ब ५७ छुट्याइएको छ। सरकारले गर्ने सेमिनार, गोष्ठी लगायतका कतिपय कार्यक्रम अनावश्यक र खर्चिलो हुने गरेको भनी आलोचना हुन्छ। यद्यपि, सरकारले यस्तो रकम विनियोजन पनि बढाएको छ।
फजुल खर्च कटौतीमा निर्मम बन्न नसके पनि सरकारले कतिपय सामाजिक क्षेत्रको बजेट भने कटौती गरेको छ।
अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा सवारी साधन खरीद नगर्ने निर्णय गरे पनि आगामी आर्थिक वर्षका लागि भने रकम छुट्याइएको छ। आगामी आर्थिक वर्षका लागि सवारी साधन खरीद गर्न रु. ८८ करोड ४० लाख विनियोजन गरिएको छ। चालु आर्थिक वर्षमा सवारी साधन किन्न रु. १ अर्ब ६८ करोड छुट्याइएको थियो।
यो पनि पढ्नुहोस्- वर्षेनि दोहोरिने सरकारी झूट !
बजेटले आगामी आर्थिक वर्षमा सवारी साधनको इन्धन रकममा करीब ३० प्रतिशतले कटौति गरेको छ। तर, मर्मत रकममा भने कटौती गरिएको छैन। त्यस्तै, पहुँचवाला निकायका कर्मचारीले पाउँदै आएको अतिरिक्त लगायतका विभिन्न भत्ता कटौती गरिएको छ।
फजुल खर्च कटौतीमा निर्मम बन्न नसके पनि सरकारले कतिपय सामाजिक क्षेत्रको बजेट भने कटौती गरेको छ।
जस्तै, छात्रवृत्तिका लागि दिने रकम करीब ११ प्रतिशत घटाइएको छ। चालु आर्थिक वर्षमा छात्रवृत्तिका लागि रु. १ अर्ब ६९ करोड विनियोजन गरिएकोमा आगामी वर्ष त्यसलाई रु. १ अर्ब ५२ करोडमा झारिएको छ।
त्यसैगरी, उद्धार, राहत र पुनर्स्थापनाको रकममा भारी कटौती गरिएको छ। उद्धार, राहत र पुनर्स्थापनामा चालु आर्थिक वर्षमा रु. ३ अर्ब १३ करोड विनियोजन गरिएकोमा आगामी आर्थिक वर्षमा रु. १२ करोड ५३ लाख मात्र विनियोजन गरिएको छ।
के मा कति विनियोजन ? (रु.)
शीर्षक २०७६/७७ २०७७/७८ परिवर्तन प्रतिशत
अन्य भत्ता ४ अर्ब २६ करोड २ अर्ब ६० करोड –३९%
वैदेशिक भत्ता ७५ करोड ५५ लाख ८२ करोड ८९ लाख १०%
इन्धन ४ अर्ब ४३ करोड ३ अर्ब ९ करोड –३०%
सवारी मर्मत १ अर्ब ४९ करोड १ अर्ब ५१ करोड १%
कार्यालय सामान, सेवा ५ अर्ब ३६ करोड ४ अर्ब ९७ करोड –७%
सेवा र परामर्श १५ अर्ब ३४ करोड १२ अर्ब ९७ करोड –१५%
कार्यक्रम खर्च ३४ अर्ब ४० करोड ४० अर्ब ५७ करोड १८%
भ्रमण खर्च १ अर्ब ५८ करोड १ अर्ब ६६ करोड ५%
सवारी साधन खरीद १ अर्ब ६८ करोड ८८ करोड ४० लाख –४७%
फर्निचर तथा फिक्चर्स १ अर्ब ३० करोड १ अर्ब ३७ करोड ५%