जनता समाजवादीको संविधान संशोधन विधेयक संसद् सचिवालयमा दर्ता
जनता समाजवादी पार्टी (जसपा)ले संविधान संशोधनको विधेयक संसद् सचिवालयमा दर्ता गराएको छ। सोमबार जसपा नेता लक्ष्मणलाल कर्णलगायतले संविधान संशोधनको छुट्टै विधेयक संसद् सचिवालय सिंहदरबारमा दर्ता गराएका हुन्।
सरकारले नेपालको नक्शा संशोधन गर्न गरिएको संविधान संशोधनको प्रस्तावसँगै प्याकेजमा संशाेधन गर्न अस्वीकार गरेपछि जसपाले छुट्टै संविधान संशाेधनको प्रस्ताव दर्ता गराएको जसपा नेता केशव झाले हिमाललाई बताए।
विधेयक दर्ता गर्न राजेन्द्र श्रेष्ठ, लक्ष्मणलाल कर्ण र केशव झालगायत नेताहरू संसद् सचिवालय पुगेका थिए। सरकारका तर्फबाट निशान छापमा भएको नेपालको नक्शा संशोधन गर्न आइतबार कानूनमन्त्री शिवमाया तुम्बाहाम्फेले संविधान संशोधनको प्रस्ताव संसदमा छलफलका लागि प्रवेश गराएकी थिइन्।
जसपाले भाषा, नागरिकता, राष्ट्रियसभामा हुने प्रतिनिधित्व, प्रदेशको सीमांकनलगायतमा संविधान संशोधन हुनुपर्ने माग राख्दै आएको छ।
यसअघि शुक्रबार पनि जसपा नेताहरू संविधान संशोधन प्रस्ताव लिएर संसद् सचिवालय पुगेका थिए। तर सभामुखसँग छलफल गर्नुपर्ने भन्दै संसद् सचिवालयका महासचिवले फर्काएका थिए।
जसपा नेता राजेन्द्र श्रेष्ठले संविधान संशाेधनका सन्दर्भमा २३ बुँदे संशाेधन प्रस्तावसहितकाे गैरसरकारी विधेयक संसद सचिवालयमा दर्ता गराएको जानकारी गराएका छन् ।
"दर्ता नम्बर १ रहेकाे याे विधेयकमा मूलत: सङ्घीयताकाे मर्म र भावनाअनुरूप पहिचानसहितकाे सङ्घीयताका लागि मार्ग प्रशस्त गर्ने, विशेष संरचनाहरूकाे निर्माणका लागि सङ्घीय आयाेग बनाउने, प्रदेशकाे क्षेत्राधिकार, अवशिष्ट अधिकार, समानुपातिक समावेशीकरण, बहुभाषिक नीति, वैवाहिक नागरिकता, गाेर्खा सेनाकाे नागरिकताकाे निरन्तरता, सङ्घीय न्यायपालिका, संवैधानिक अदालत, भ्रष्टाचार नियन्त्रणका लागि लाेकपालकाे व्यवस्था जस्ता विषयहरू समेटिएकाे छ," उनले भनेका छन् ।