२६ जिल्लामा डेंगीको संक्रमण, रुपन्देहीमा सबैभन्दा बढी
लामखुट्टेबाट सर्ने डेंगीको संक्रमण २६ जिल्लामा देखिएको छ। ती जिल्लामा पुस महीनायता ८२ जनामा डेंगी संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
कोरोनाभाइरसबारे जानकारी दिन मन्त्रालयले आयोजना गर्ने नियमित प्रेस बिफिङमा रुपन्देही, म्याग्दी र कास्कीमा सबैभन्दा बढी संक्रमित देखिएका जानकारी गराइयो। पत्रकार सम्मेलनमा इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले कोरोनाभाइरस बाहेक अरु रोगहरुको संक्रमण पनि बढ्ने समय भएकाले सचेत हुनुपर्ने बताए। विशेष गरी डेंगी, मलेरिया, झाडापखालाबाट बच्न उनको सुझाव छ।
डेंगीबाट गएको पुसदेखि अहिलेसम्म सबैभन्दा बढी रुपन्देहीमा ३५, म्याग्दीमा १२, कास्कीमा १०, काठमाडौंमा ७, ललितपुर र सुनसरीमा ४/४ जना संक्रमित देखिएका छन् ।
इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार, गएको वर्ष ६८ जिल्लामा करीब १६ हजार जनामा डेंगी संक्रमण देखिएको र ६ जनाको मृत्यु भएको थियो।
डेंगी नियन्त्रणका लागि घर वरिपरि पानी जम्न नदिने, सरसफाइमा ध्यान दिने तथा पूरा शरीर ढाक्ने कपडा लगाउने जस्ता कुरामा ध्यान दिनुपर्ने सुझाव महाशाखाका निर्देशक पाण्डेले दिएका छन्।