माग पूरा नभएको भन्दै त्रिविका आंशिक प्राध्यापकले गरे नपढाउने घोषणा
त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरुले आफ्ना मागहरु सम्बोधन नभएको भन्दै विश्वविद्यालयका कुनैपनि शैक्षिक गतिविधीमा सँलग्न नहुने घोषणा गरेका । यसअघि उनीहरुले बन्दाबन्दीमा अनलाइन कक्षा लिइरहेका प्राध्यापकलाई भत्ता दिन र २०७४ सालमा नै मन्त्रिपरिषद्ले गरेको निर्णय अनुसार करार गर्न माग गरेका थिए ।
त्रिवि आंशिक प्राध्यापक सँघले शनिबार विज्ञप्ति प्रकाशित गरी आफूहरुका माग पूरा गर्न पटकपटक अनुरोध गर्दा पनि संवोधन नभएकाले कक्षा नलिने र अरु सबै प्रकारका शैक्षिक क्रियाकलापमा सहभागि नहुने जनाएको हो । विगत १४ वर्षदेखि अध्यापन गराउँदै आएका आंशिक प्राध्यापकका माग पूरा नभएको संघका अध्यक्ष डा. महेशकुमार गजुरेल, महासचिव केशव चन्द र आन्दोलन संयोजक नरेन्द्र प्रसाद भण्डारीले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रिपरिषद्ले ८ मंसिर २०७४ मा गरेको त्रिभुवन विश्वविद्यालयमा दरबन्दी थप गरेर आंशिक प्राध्यापकलाई करार गर्ने निर्णय कार्यान्वयन र अहिलेसम्मको पारिश्रमिक उपलब्ध नभएसम्म आन्दोलन फिर्ता नहुने संघले जनाएको छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटा लगायत पदाधिकारीले १९ वैशाखमा एक हप्तामा समस्या समाधान गर्ने प्रतिवद्धता जनाए पनि पूरा नभएको अध्यक्ष डा. गजुरेलले जानकारी दिए ।