चौपाया राख्ने पाटनमा प्लास्टिकको पाल हालेर क्वारेन्टिन
मुगु जिल्लाको पश्चिमी भाग खत्याड गाँउपालिकाले भारतबाट आएका नागरिकलाई तरकारी फलाउने प्लास्टिकको पालमा क्वारेन्टिन बनाएर पशु चौपाया राख्ने पाटन क्षेत्रमा राखेको छ ।
त्यहाँ बनाइएका अव्यवस्थित तवरले निर्माण गरिएका क्वारेन्टिनमा स्थानियहरू कोचाकोच गरेर बस्न बाध्य भएका छन् । भारत तथा अन्य मुलुकबाट आएका स्थानीयलाई क्वारेन्टिनमा राख्नका लागि १० स्थानमा पालहरू बनाइएका छन् ।
सोही गाँउपालिका—५ हलेखाडा र छोटेमा स्थापना गरिएको क्वारेन्टिन बर्षा याममा भेडा बाख्रा राख्ने पाटन क्षेत्रमा पर्दछन् । आफूलाई भेडा बाख्राजस्तै गरि राखिएको क्वारेन्टिनमा बसेकाहरूको गुनासो छ ।
हलेखाडा र छोटेका क्वारेन्टिनमा तरकारी खेतिका लागि प्रयोग गरिने प्लास्टिकले निमार्ण गरिएका पालमुनी स्थानियलाई बसालिएको छ । जस्मध्य हलेखाडामा ४८ र छोटेमा १ सय १९ जनालाई राखिएको छ । एउटा पालमुनि २० देखि २५ जना भारतबाट फर्केकाहरू छन् ।
दुधे बालबालिका समेत रहेका ती क्वोन्टिनमा आगो ताप्नका लागी जङ्गलबाट दाउरा समेत ल्याउन नदिएको उनीहरूको गुनासो छ । चिसो भूइमाथि सुत्नु पर्दा कोरोनाको संक्रमण भन्दा चिसोले ज्यान जाने खतरा देखिएको छ । हेल्प डेक्सको समेत ब्यवस्था गरिएको छैन ।
क्वारेन्टिाइनमा राखिएकाहरूको अहिलेसम्म ज्वरो समेत नापिएको छैन । आरडीटी र पीसीआर परिक्षण समेत कहिले हुने हो भन्ने पनि अहिलेसम्म एकिन छैन । सौचालय र खानेपानीको झन समस्या छ ।
भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका खत्याड गाँउपालिका ३ का रविन बानियाँले सरसफाईका सामग्री पनि उपल्बध नभएको बताए । “बिहान बेलुका एक छाक भात खान पाइएको छ । पशु चौपाया त गोठमा राखिन्छ, पाटन क्षेत्रको चिसो खुल्ला आकासमा पलास्टिकको पालमुनी हामीलाई राखिएको छ” बानियाँले भने “पशु चौपाया भन्दा तल्लोस्तरको ब्यवहार गरेर पाटनमा राखिएको छ ।” उनले खानेपालीको सबै भन्दा ठूलो समस्या रहेको बताए ।
क्वारेन्टिन ब्यवस्थापनको जिम्मा पाएका युवाहरूलाई समेत मास्क, सेनिटाईजरलगाएत स्वास्थ्य सामग्री नहुँदा जोखिम मोलेर काम गर्नु परेको हलेखाडा ब्यवस्थापन समितिका संयोजक कल बहादुर रोकायाले बताए ।
भारतबाट आउनेहरूका लागी झुगला, हलेखाडा, छोटेमा क्वारेन्टिनको ब्यवस्था गरिएको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि बनाइएको क्वारेन्टिन सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७६ अनुसार न्यूनतम सरसफाईका सामगी्र, शौचालय, खानेपानी, सामाजिक दूरी कायम गरि सुत्न बस्ने व्यवस्था, खाना, नास्तासहित मनोरन्जन र शारिरिक व्यायम गर्ने व्यवस्था हुनुपर्ने भनिएको छ ।
शब्द/तस्वीरः अच्युत राज भण्डारी, मुगु