सरकारी विद्यालय भरिएपछि भैंसी गोठमा क्वारेन्टिन
लक्ष्मी भण्डारी, सुर्खेत
भारतबाट आउने क्रम बढेपछि दैलेखको भैरवी गाउँपालिकालाई क्वारेन्टिनको व्यवस्थापन गर्न समस्या भएको छ । गाउँपालिकामा रहेका सबै सरकारी विद्यालयहरू क्वारेन्टिन बनाएर भरिएका छन् ।
अहिलेसम्म भैरवी गाउँपालिकामा एक हजार पाँच सय भन्दा बढी नागरिक भारतबाट आएको गाउँपालिकाका उपाध्यक्ष पद्माकुमारी विष्टले जानकारी दिइन् । एउटा विद्यालयमा एक सय ७० जनासम्म राखिएको उनले बताइन् । “भारतबाट आउनेहरूको संख्या बढेकाले उनीहरूलाई व्यवस्थापन गर्न समस्या भएको छ”, उपाध्यक्ष विष्टले भनिन्, “गाउँपालिकालाई थेग्नै मुस्किल भएको छ ।”
स्थान अभावका कारण र्यापिड टेष्ट (आरडीटी) पोजेटिभ देखिएपछि क्वारेन्टिमा राखिएका ४ जनालाई भैंसी गोठमा सारिएको छ । यस विषयमा विरोध आएपछि अन्यत्रै लैजाने तयारी भएको भैरवी गाउँपालिकाकी उपाध्यक्ष विष्टले बताइन् ।
आरडीटी पोजेटिभ देखिएपछि संक्रमणको खतरा हुने भन्दै उनीहरूलाई स्थानीय एक व्यक्तिको भैंसी गोठमा राखेको स्थानीयको भनाइ छ । १० दिनअघि भारतबाट आएका उनीहरूलाई भैरवी गाउँपालिका–३ को देउती आधारभूत विद्यालयमा स्थापना गरिएको क्वारेन्टिनमा राखिएको थियो ।
आरडीटी रिपोर्ट पोजेटिभ देखिएपछि स्कूल नजिकैको एक स्थानीयको भैंसी गोठमा चारै जनालाई शनिबार दिउँसोदेखि सारिएको हो । क्वारेन्टिनमा व्यवस्थापनको कठिनाइ मात्र होइन उनीहरूलाई खानेपानी र शौचालयको समस्या पनि उत्तिकै छ । त्यसैगरी क्वारेन्टिनमा रहेकाहरूलाई झाडापखालाको समस्या देखिन लागेको उपाध्यक्ष विष्टले बताइन् ।
गाउँपालिका अध्यक्ष प्रेम बुढाले आरडीटी पोजेटिभ देखिएपछि उनीहरूलाई क्वारेन्टिनबाट निकालेर गोठमा राखिएको बताए । “क्वारेन्टिनमा रहेका अरूलाई पनि कोरोना सर्न सक्ने भएकाले स्कूल नजिकैको व्यक्तिको भैंसी गोठमा राखेको र अब कहाँ राख्ने भन्ने आफूहरूको सल्लाह भइरहेको अध्यक्ष बुढाले बताए ।