साउनदेखि ८ लाख घरेलु ग्राहकलाई निःशुल्क बिजुली
आगामी साउनदेखि नेपाल विद्युत् प्राधिकरणका आठ लाख घरेलु ग्राहकले निःशुल्क विद्युत् सेवा उपभोग गर्न पाउने भएका छन्।
अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संघीय संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्यमा प्रतिमहीना १० युनिटभन्दा कम विद्युत् खपत गर्ने गार्हस्थ ग्राहक (परिवार) लाई विद्युत् निःशुल्क उपलब्ध गराउने उल्लेख छ।
प्राधिकरणका करीब ४१ लाख गार्हस्थ ग्राहकमध्ये १० युनिटभन्दा कम विद्युत् खपत गर्नेको संख्या आठ लाख छ।
ती ग्राहक आर्थिक रुपमा विपन्न भएकाले राहत दिने उद्देश्यले महशुल निःशुल्क दिने व्यवस्था मिलाइएको ऊर्जा, जलस्राेत तथा सिंचाइमन्त्री वर्षमान पुनले जानकारी दिए। ८ लाखमध्ये कतिपयले न्यूनतम शुल्क समेत बुझाउन नसक्दा प्राधिकरणले विद्युत् लाइन काट्दै आएको थियो।
आगामी १ साउनदेखि नै यो व्यवस्था कार्यान्वयनमा आउने मन्त्री पुनले बताएका छन्। उनका अनुसार, विश्वव्यापी महामारी कोरोनाभाइरसका कारण गएको चैतदेखि सबै प्रकारका ग्राहस्थ विद्युत ग्राहकलाई दिइँदै आएको २५ प्रतिशत छूटलाई पनि बन्दाबन्दी कायम रहुन्जेल निरन्तरता दिइनेछ।
यो पनि पढ्नुहोस्- बिजुलीको बिल तिर्न अलमल भयो ? यसरी आफैं गर्नुस् मिटर रिडिङ