सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षलाई भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुरको शहीद स्मृति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कर्णबहादुर विष्ट र सहयोगी नवराज जोशी विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। आयोगले समितिका लागि ट्रयाक्टर खरीद शीर्षकमा अध्यक्ष विष्टले १२ लाख ९० हजार रुपैयाँ हिनामिना गरेको जनाएको छ।
भीमदत्त नगरपालिकास्थित शहीद स्मृति सामुदायिक वन उपभोक्ता समूह भीमदत्त नगरपालिका–३ तिलकपुरको नाममा रहेको ट्रयाक्टर र ट्रली घरायसी प्रयोजनमा लगाइएको र ट्रयाक्टर र ट्रली बिक्री गरेका उजुरी परेपछि आयोगले अनुसन्धान थालेको थियो।
आयोगको अनुसन्धानमा अध्यक्ष विष्टले रु. १२ लाख ९० हजार रुपैयाँ वन उपभोक्ता समूहबाट खर्च देखाएको भए पनि उक्त ट्रयाक्टर एमपी अटोमोवाइल्सबाट बोहरीगाउँ–१ दार्चुलाका नवराज जोशीका नाममा दर्ता रहेको खुलेको थियो।
आयोगले आइतबार विशेष अदालतमा हिनामिना भएको रकम असुल उपरसहित भ्रष्टाचार निवारण ऐन अनुसार सजाय मागदाबी सहित मुद्दा दर्ता गरेको हो। आयोगले सहयोगी जोशीसँग पनि रकम असुलउपर गर्दै उनका नाममा रहेको ट्याक्टर समितिमा नाममा ल्याउन मागदाबी गरेको छ।