क्वारेन्टिनमा अनधिकृत प्रवेश रोक्न खोज्ने प्रहरी कुटिए
सप्तरीको कञ्चनरुप नगरपालिकाको बैरबास्थित नारायण माविमा रहेको क्वारेन्टिनमा अनधिकृत प्रवेश राेक्न खोज्दा ड्यूटीमा खटिएका प्रहरी कुटिएका छन्।
सप्तरी प्रहरीले ड्यूटीमा खटिएका प्रहरीलाई हातपात गरेको अभियोगमा कञ्चनरुप नगरपालिका–२ बस्ने २७ वर्षीय युवराज सेखलाई पक्राउ गरेको छ।
विद्यालय परिसरमा रहेको क्वारेन्टिन स्थलमा पाँच जनाको समूहले त्यहाँ रहेका मानिससँग भेटघाट गर्न जबर्जस्ती जान खोजेपछि प्रहरीले रोकेका थिए।
उनीहरुलाई सम्झाउने क्रममा इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएका प्रहरी जवानसँग वादविवाद गरी हातपात गर्दा एक प्रहरी जवान सामान्य घाइते भएका छन्। घाइते प्रहरी जवानलाई उपचारका लागि स्थानीय धर्मेश्वर अस्पताल ठेलिया लगिएको छ।
घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।