राज्यको चरित्रजस्तै बजेटः राजेन्द्र महतो
जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले बजेट राज्यको चरित्रजस्तै आएको बताएका छन्। बजेट माथिको छलफलमा भाग लिदै महतोले बजेट टिप्पणी योग्य समेत नभएको बताए।
“शासकहरुकै लागि यसपटक पनि बजेट आयो। सीमान्तकृतलाई झनै कमजोर बनायो”, उनले भने। यो बजेट पहिलेकै जस्तो महत्वाकांक्षी बजेटको निरन्तरता भएको उनले बताए।
“देशमा अल्पसंख्यकहरुको शासन चलिरहेको छ। जनजाति, मधेशी, दलित विपक्षी सधैं विपक्षमा रहेकाले बजेटमा पनि त्यही झल्किएको छ”, महतोले भने।
बजेटले फेरि पनि जनतालाई भिखारीको रुपमा हेरिएको उनले बताए। “नेपालको एकीकरण पछाडि सधैं आफूलाई दाता मान्ने र प्रजालाई बक्सिस दिएको हिसाबले बजेट बन्दै आएको छ”, महतोले भने।
महामारीको असरका बेला जनता बचाउनेगरी बजेट नआएको उनले बताए। “जनता भोकै मरिरहेका छन्। संसदमा भाषण भने कसैलाई मर्न दिइँदैन अरे”, महतोले भने।
बजेट संघीयता सखाप पार्नेगरी आएको बताए। “तिमीले संघीयता सखाप पार्ने काम गरिरहेका छौं। ८९ प्रतिशत बजेट केन्द्रमा राखेर संघीयता बलियो हुन्छ?”, उनले भने।