बिजुलीको बिल तिर्न अलमल भयो ? यसरी आफैं गर्नुस् मिटर रिडिङ
कोरोनाभाइरस रोकथामका लागि ११ चैतदेखि लगाइएको बन्दाबन्दीका कारण पछिल्लो समय नेपाल विद्युत् प्राधिकरणका कर्मचारीले घरघरमा गएर मिटर रिडिङ गर्न सकेका छैनन्। जसका कारण ग्राहकलाई केका आधारमा महशुल तिर्ने भन्ने अलमल भइरहेको छ।
यो स्थितिमा प्राधिकरणले ग्राहकलाई आफैंले अनलाइन मार्फत मिटर रिडिङ गर्न सक्ने सुविधा दिएको छ। जसबाट आफ्नो मिटरमा उठेको विद्युत् खपतको अंक थाहा पाएर बिल तिर्न सहज हुने प्राधिकरणले जनाएको छ।
यसका लागि ग्राहकले वेब ब्राउजरमा कन्जुमर डट एनइए डट ओआरजी डट एनपी टाइप गरी रजिस्टरमा क्लिक गरेर आफ्नो विवरण दर्ता गर्नुपर्छ। रजिष्ट्रेशन गर्दा राखिएको मोबाइल नम्बर र आफूले राखेको पासवर्ड प्रयोग गरी लगइन गर्न सकिन्छ। त्यसपछि एड कन्जुमर बटन क्लिक गरी खुल्ने कन्जुमर रजिष्ट्रेशन फारममा दिइएको निर्देशन अनुसार ग्राहक विवरण भर्नुपर्नेछ। एकचोटि यो विवरण भरेपछि अर्को पटक प्रयोग गर्दा भर्नुपर्दैन।
त्यहाँ देखाउने ग्राहकको सूचीमा आफ्नो ग्राहक नम्बरमा क्लिक गरेपछि खुल्ने अनलाइन मिटर रिडिङ इन्ट्री फारमको ‘करेन्ट मिटर रिडिङ फिल्ड’ मा आफ्नो घरको विद्युत् मिटरमा देखिएको अंक टाइप गरी बुझाउनुपर्नेछ। मिटरको अंक देखिने गरी फोटो खिचेर अपलोड गरेर पनि पठाउन सकिनेछ। यति गरेपछि खपत भएको विद्युतको महशुल देखाउँछ, जुन महशुल नलाइन भुक्तानीका लागि अनुमतिप्राप्त सेवा प्रदायक मार्फत तिर्न सकिनेछ।
इन्टरनेट सुविधा नभएका ग्राहकहरुलाई पनि टोलफ्री नम्बरमा फोन गरी मिटरमा उठेको अंक टिपाउन सक्ने व्यवस्था छिटै गरिने प्राधिकरणले जनाएको छ।
ग्राहकले अनलाइन मिटर रिडिङ प्रणालीमा विद्युत् खपतको वास्तविक अंक राख्नुपर्नेछ। यदि हालिएको अंकमा दुरुपयोग गरेको पाइए विद्युत् वितरण विनियमावली अनुसार कारबाही हुने प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयले प्रष्ट पारेको छ।
प्राधिकरण कम्प्युटराइज्ड विलिङ महाशाखाका अनुसार यो प्रणाली शुरु गरिएपछि करीब २५ हजार ग्राहकले रजिष्ट्रेशन गराएका छन्। यस्तै, आठ हजार ग्राहकले आफ्नो विद्युत् मिटरमा चढेको अंक प्रणालीमा राखेर अनलाइन मार्फत महशुल भूक्तानी गरी छूट सुविधा लिएका छन्।
प्राधिकरणले ग्राहक सेवालाई थप प्रभावकारी बनाउन दुई वर्ष अघिदेखि अनलाइन मार्फत विद्युत् महशुल भुक्तानी गर्न सकिने व्यवस्था गरेको हो। हाल सात लाखभन्दा बढी ग्राहकले अनलाइन मार्फत महसुल भुक्तानी गर्दै आएका छन्।
यो पनि पढ्नुहोस्- साउनदेखि ८ लाख घरेलु ग्राहकलाई निःशुल्क बिजुली